
काठमाडौं । प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टीको विरोधका बीच पनि सभामुखले संसद बैठक अघि बढाएसँगै रास्वपाका सांसदहरुले वेल घेराउ गरेका छन् ।
संसदमै नाराबाजीसहित विरोध जनाइरहेको रास्वपाको विरोधका बीच सभामुख देवराज घिमिरेले संसद बैठकलाई अघि बढाएपछि रास्वपाका सांसदहरुले वेल घेराउ गरेका हुन् ।

रास्वपाका सांसदहरुले गृहमन्त्री रमेश लेखक र भिजिट भिसामा उनको संलग्नताको विषयमा छानबिन हुनुपर्ने र उनले राजीनामा दिनुपर्ने भन्दै नाराबाजी गरिरहेका छन् ।

रास्वपाले वेल घेराउ गरेर विरोध गरिरहँदा राष्ट्रिय प्रजातन्त्र पार्टीले भने सदन बहिष्कार गरेर बाहिरिएको छ ।

प्रतिनिधिसभा बैठकमा विगत केही दिनदेखि यस्तै दृश्य देखिएको छ । जेठ १३ गतेदेखि प्रतिनिधिसभाको बैठकमा प्रतिपक्षले विरोध जनाइरहेका छन् । आइतबारबाट भने सभामुखले प्रतिपक्षको विरोधका बीच पनि संसद बैठकलाई अघि बढाइरहेका छन् ।