
काठमाडौं । नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चर एशोसिएशन (नाइमा) को औपचारिक घोषणा बुधबार काठमाडौंमा आयोजित एक समारोहमार्फत् गरिएको छ। नयाँ संगठनको नेतृत्व युनाइटेड ट्रेडर्स सिण्डिकेट प्रालिकी प्रबन्ध निर्देशक ऋतु सिंह वैद्यले गर्नेछिन् ।
नाइमा सञ्चालक समितिमा अटोमोबाइल क्षेत्रका प्रतिष्ठित व्यवसायीहरू सहभागी छन्। समितिमा नाडाका दुई पूर्वअध्यक्षहरू पनि रहेका छन् । शेखर गोल्छा, जो नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्षसमेत हुन्, सदस्य छन् । गोल्छा समूहका अध्यक्ष समेत रहेका उनी हंशराज हुलासचन्द एण्ड कम्पनीमार्फत बजाज, केटीएम र ट्रयाम्फ मोटरसाइकल नेपालमै एसेम्बल गर्दै आइरहेका छन् ।
त्यस्तै, नाडाका अर्का पूर्वअध्यक्ष सौरभ ज्योति पनि नाइमाको सञ्चालक बनेका छन् । स्याकार ट्रेडिङका चेयरम्यान ज्योति होण्डा ब्राण्डका मोटरसाइकल र कारको बिक्री तथा एसेम्बल गर्दै आएका छन्। उनी चर्चित मोटोभ्लगरसमेत हुन् ।
नाडाका वर्तमान कार्यसमितिका दुई सदस्य लक्ष्मी मोटर कर्पोरेशनका निराकार श्रेष्ठ र साइमेक्स इंककी प्रबन्ध निर्देशक यमुना श्रेष्ठपनि नाइमाको सञ्चालकमा समावेश छन् । निराकार हुन्डाई ब्राण्डका कार नेपालमै एसेम्बल गर्न थालेका छन् भने यमुना श्रेष्ठ बीवाइडी ब्राण्डको आधिकारिक विक्रेता हुन् । उनी नाडाको राजस्व समितिकी सभापति पनि हुन् ।
यसैगरी, महिन्द्राका गाडी बिक्री गर्दै आएका अग्नी इनकर्पोरेटका प्रबन्ध निर्देशक क्याविनेट श्रेष्ठ, किया र इसुजु ब्राण्डका आधिकारिक विक्रेता कन्टिनेन्टल ट्रेडिङका सुह्युद घिमिरे, ओमोडा/जेको, जीकर र निसान ब्राण्ड बिक्री गर्दै आएको एसपीजी अटोमोबाइल्सका सन्दीप सारडा, लीप मोटर, सिट्रोन र प्यूजो ब्राण्डका वितरक साँग्रिला मोटर्सका हेमन्त गोल्छा, एमजी, विलिङ, माज्दा लगायतका ब्राण्ड विक्रेता पारामाउन्ट मोटर्सका निकुन्ज अग्रवाल र भारतबेञ्ज ब्राण्डको बिक्री गर्ने काब्रा ग्रुपका उदयन काब्रासमेत नाइमाको सञ्चालक समितिमा समावेश छन् ।
नेपाल मोबिलिटी शो २०२५ का लागि समिति गठन
आगामी साउन २१ गतेदेखि आयोजना हुने नेपाल मोबिलिटी शो २०२५ का लागि तीन सदस्यीय समिति गठन गरिएको छ। समितिमा गौरव सारडा, निराकार श्रेष्ठ र शिरिष मुरार रहेका छन्।