Nepal Purbadhar

सिंगटी हाइड्रोले लगानी गरेको हेवा खोला ‘ए’ ५० प्रतिशत पूरा,अर्काे वर्ष विद्युत उत्पादन


काठमाडौं । सिंगटी हाइड्राे इनर्जी कम्पनीले लगानी गरेकाे ९.९ मेगावाटकाे हेवाखाेला ‘ए’ साना जलविद्युत आयोजना ५० प्रतिशत सम्पन्न भएकाे छ । ह्याविटाट पावर कम्पनी लिमिटेडले पाँचथरकाे हेवा खाेलामा निर्माण गरिरहेकाे आयोजनाकाे आधा काम सकिएकाे हाे ।

निर्माण थालेकाे ८ महिनामा आयोजनाकाे आधा काम सम्पन्न भएकाे सिंगटी हाइड्राे इनर्जी कम्पनीका कार्यकारी निर्देशक सुदीप खड्काले बताए । उनका अनुसार याे आयोजना २०८१ साल फागुनभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य छ ।

याे आयोजनामा सिंगटी हाईड्रोको ५१ प्रतिशत लगानी छ । आयोजनाका अधिकारीहरुका अनुसार लक्ष्य भन्दा धेरै काम भएको र कुनै प्राकृतिक विपत्ति वा अन्य काबु बाहिरको परिस्थिति सृजना नभए २०८१ को माघ अन्तिम साता नै निर्माणकार्य सम्पन्न गर्ने गरी काम भइरहेकाे छ।

गत असार अन्तिम साताबाट याे आयोजनाकाे निर्माणकार्य थालिएकाे थियाे । आयोजनामा पहुँचमार्ग विस्तार , जग्गा व्यवस्थापन प्रक्रिया सम्पन्न भइसकेको छ । संरचना निर्माणकाे काम धमाधम भइरहेकाे आयोजना निर्देशक मधुसूदन पौड्यालले जानकारी दिए ।

हेर्डवक्स , विद्युतगृह लगाएत  मुख्य संरचनाको निर्माणकार्य निर्धारित तालिकाभन्दा धेरै भइसकेकाे उनले बताए । आयोजनामा प्रयोग हुने पेनस्टक पाईप नेपाल आइसकेकाे छ । अहिले निर्माणस्थलसम्म ढुवानी भइरहेको छ ।

विद्युतगृहमा जडान हुने उपकरणको खरिद प्रकृया अन्तिम चरणमा पुगिसकेको निर्देशक पौड्यालले बताए ।  प्रतिमेगावाट १८ करोड ५० लाख लागत अनुमान गरिएकाे याे आयोजनामा माछापुच्छ्रे बैंकको अगुवाइमा लुम्बिनी विकास बैंकको पनि ऋण लगानी लगानी छ ।

आयोजनाबाट उत्पादित विद्युत पाँचथरस्थित  नेपाल विद्युत प्राधिकरणको १३२ केभी थापाटार सबस्सटेसनमा जोडिनेछ । आयोजनास्थलबाट थापाटारसम्म करिब ७ किलोमिटर प्रसारण लाइन निर्माणको काम समेत अघि बढिसकेको पाैडेलले जानकारी दिए ।


Read Previous

ग्लोबल आइएमई बैंकद्वारा ७ वटै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन

Read Next

नेपालमा पहिलो पटक चल्यो ग्रीन हाइड्रोजन इन्धनबाट गाडी