Nepal Purbadhar

मङ्लबार, जेष्ठ ८, २०८१
Tuesday, May 21, 2024

मङ्लबार, जेष्ठ ८, २०८१
Tuesday, May 21, 2024

पक्की सडक बन्ने भएपछि नेपालगञ्जवासी हर्षित   


बाँके । नेपालगञ्ज उपमहानगरपालिकाको भारतसँग जोडिएको सीमावर्ती क्षेत्रमा पक्की सडक बन्ने भएपछि स्थानीयवासी हर्षित भएका छन् ।    भारतसँग जोडिएको नेपालगञ्जको वडा नं १५ पिप्रहवा र वडा नं १६ जयसपुरमा पक्की सडककाे निर्माण सुरु हुँदा उनीहरू हर्सित भएका हुन् ।

उपमहानगरपालिकाले जमुनाह र जयसपुरगाउँमा पक्की सडक निर्माणको काम सुरु गरेपछि खुसी लागेको स्थानीय कैलाश यादवले बताए । “हाम्रो वडाका भित्री सडक अहिलेसम्म पक्की भएको छैन, अब भने बन्ने आशा जागेको छ”, यादवले भने, “पक्की सडक नहुँदा वर्षाका बेला हिलाम्मे र हिउँदमा धुलाम्मे हुने अवस्था रहेको छ ।”

नेपालगञ्ज–१५ स्थित जमुनाहा गाउँमा मुख्य सडक सुर्खेत रोडदेखि जमुनाहा गाउँसम्म पुग्ने दुई सय २० मिटर लामो सडकमा कालोपत्र गर्ने कार्य सुरु भएको उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले बताए । आगामी जेठ १५ गतेभित्र काम सक्ने गरी एएनडी कन्स्ट्रक्सन ग्रुप बाँकेले ठेक्का पारेको छ ।

४७ लाख ८८ हजार रुपैयाँ लागतमा सडक बत्ती जडान, सडक स्तरोन्नति तथा नालामा ढक्कन हाल्ने काम सम्पन्न हुने उपमहानगरपालिकाका इञ्जिनियर प्रदीपकुमार हरिजनले जानकारी दिए ।

पक्की सडक निर्माणसँगै ४० खम्बामा सडक बत्ती जडान, माटो पटान तथा नालामा ढक्कन हाल्ने योजनाको सुरुआत भएको वडा नं १५ का वडाध्यक्ष मदनविक्रम शाहले बताए । उनले साविकको पिप्रहवा गाविस रहेको वडा नं १५ भौगोलिकरुपमा ठूलो वडा भएकाले पूर्वाधार विकासमा बजेटको अभाव हुने भएकाले जनताको चाहनाबमोजिम काम हुन नसकेको बताए ।

यसैगरी, भारतीय सीमा क्षेत्रसँग जोडिएको उपमहानगरपालिका–१६ जयसपुरमा मुख्य सडक जोड्ने फराकिलो पक्की सडक निर्माण प्रक्रिया सुरु भएको छ । जयसपुरस्थित अब्दुल रहमानको घरदेखि पचपोखरा जाने बाटोसम्म पक्की सडक बन्ने भएपछि स्थानीयमा खुसियाली छाएको छ ।

यो सडक निर्माण सम्पन्न भएसँगै जयसपुरवासीलाई मुख्य सडकसम्म पुग्नका लागि सवारी आवतजावतमा सहज हुनुका साथै जयसपुरको मुहार परिवर्तन हुने वडाध्यक्ष कलीम अहमद जोलाहले बताए । वडाध्यक्ष जोलाहको विशेष पहलमा वडामा पक्की सडक बन्ने भएपछि वडावासी खुसी भएको वडासचिव तेजबहादुर सिंहले बताए ।

“जयसपुरमा अहिलेसम्म साँघुरा सडक भएका कारण वडावासीलाई मुख्य सडकसम्म पुग्न समस्या रहेको छ”, उनले भने, “अब यो सडक बनेपछि जयसपुर गाउँभित्रैसम्म ठूला सवारीसाधनको सहजै आवागमन हुनेछ र त्यसले यहाँको समग्र विकासमा प्रभाव पार्नेछ ।”

९० लाख रुपैयाँ लागतमा सडक निर्माण काम सुरु भएको छ । उपमहानगरपालिकाका उपप्रमुख कमरुद्दिन राईले जयसपुरको विकासमा यो सडकले महत्त्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै सडकको गुणस्तरीयता र समयमै काम सम्पन्न गर्नका लागि सबै वडावासीले ध्यान दिनुपर्नेमा जोड दिए ।


Read Previous

सुदूरपश्चिमका ५ पर्यटकीय स्थलमा पूर्वाधार निर्माण गरिँदै   

Read Next

राष्ट्रिय गौरवका आयोजनाकाे लागत नबढ्ने गरी कार्यसम्पादन गर्न प्रधानमन्त्रीकाे निर्देशन

Leave a Reply

Your email address will not be published.