काठमाडौं । दक्षिणी बागलुङको कुश्मिसेरा-बरेङ-शान्तिपुर सडकमा कालोपत्र भइरहेको छ । ट्र्याक खुलेको १५ वर्षपछि बल्ल यो सडकमा कालोपत्र गर्ने काम भइरहेको हो ।
२०६५ सालमा नै ट्र्याक खुलेकाेमा अहिले यो सडकलाई २ खण्डमा विभाजन गरी कालोपत्र गर्ने कार्य भइरहेको पूर्वाधार विकास कार्यालय बागलुङका इन्जिनियर प्रकाश श्रीसले जानकारी दिए ।
पहिलो खण्डअन्तर्गत जिल्लाको कुश्मिसेरा बजारदेखि राङ्खानीसम्म र कुश्मिसेरादेखि बरेङसम्म दोस्रो खण्डमा काम भइरहेको छ । सडकको पहिलो खण्डमा पर्ने १० किलोमिटरको काम शर्मा क्याराभान जेभीले गरिरहेको छ । यो कम्पनीसँग सडक निर्माण गर्न २०७६ असोज २८ गते ठेक्का सम्झौता गरिएको थियो ।
४ वर्षअघि नै ठेक्का सम्झौता भएपनि यो कम्पनीले ३ पटक म्याद थप गरिसकेको छ । तर, काम सम्पन्न भएको छैन । ठेकेदारकाे कमजाेर कार्यसम्पादनले पहिलो खण्डमा बल्ल ६२ प्रतिशत काम भएको छ ।
दुई वर्षअगाडि नै सक्नुपर्ने सडकको काम अझै ३८ प्रतिशत बाँकी रहेको श्रीसले जानकारी दिए । उनका अनुसार यो सडक खण्डमा कालोपत्र गर्न ठेकेदार कम्पनीले ‘बेस’को काम गरिरहेको छ ।
यो सडक खण्ड निर्माण गर्न तेस्रो पटक थपिएको म्याद २०८१ साल असार मसान्तसम्म रहेकोमा यो अवधिमा काम सम्पन्न गर्न कामदारको संख्या बढाएमा मात्रै सम्भव हुने उनले बताए । यो सडक खण्डको कालोपत्र गर्ने कार्य सम्पन्न गर्न २४ करोड ५८ लाख लागत अनुमान गरिएको छ ।
यस्तै, कुश्मिसेरादेखि बरेङसम्मको खण्डमा रौताहा खानी धुलिखेल जेभीले काम गरिरहेको छ । यो कम्पनीसँग २०७८ असार ३० गते सम्झौता ठेक्का सम्झौता भएको थियो ।
दोस्रो खण्डमा ११ किलोमिटर सडक निर्माण गर्नुपर्नेछ । यो खण्डको हालसम्म करिब ७ किलोमिटर ढलान र कालोपत्र भएको इन्जिनियर श्रीले जानकारी दिए । यो सडक खण्डको निर्माण पनि गत असारमा नै सम्पन्न भइसक्नु पर्ने भए पनि ४ किलोमिटर अझै बाँकी छ ।
अहिले ठेकेदारले कामदारको संख्या बढाएर कालोपत्र गर्ने कार्य गरिरहेको उनले बताए । यो सडक खण्ड निर्माण सम्पन्न गर्न ३४ करोड २५ लाख रुपैयाँ खर्च हुने अनुमान छ ।