Nepal Purbadhar

कमजोर भौगर्भिक अवस्थाले ४६ दिनदेखि सुनकोसी मरिन डाइभर्सन परियोजनाको सुरुङ निर्माण अवरुद्ध


काठमाडौं । राष्ट्रिय गौरवको सुनकोसी मरिन डाइभर्सन बहुउद्देश्य परियोजनाको सुरुङ निर्माणको काम विगत ४६ दिनदेखि ठप्प छ । टनेल बोरिङ मेसिन (टिबिएम) बाट परियोजनाको मुख्य सुरुङ निर्माण भइरहँदा कमजोर भौगर्भिक अवस्थाले सुख्खा पहिरो खस्ने तथा पानी चुहिने समस्या देखिएपछि काम रोकिएको हो ।

लगातार सुख्खा पहिरो खस्ने काम नरोकिएपछि भौगर्भिक समस्या देखिएको स्थानमा ‘ट्रिटमेन्ट’ गर्न सुरुङ खन्ने कार्य बन्द गरिएकाे परियोजनाका निर्देशक मित्र बरालले जानकारी दिए । उनका अनुसार निरन्तर खसिरहने पहिरो तथा पानीबाट टिबिएममा खराबी आउन नदिनका लागि सुरुङमा काम रोकिएको हो ।

‘समस्या आउँदा कसरी ट्रिटमेन्ट गरेर काम अगाडि बढाउने भन्नेबारे निर्णय भइसकेको छ,’ उनले भने, ‘सोही अनुरुप परियोजना स्थलमा प्राविधिक टोलीले काम गरिरहेको छ ।’  परियोजनाको कूल १३.३ किलोमिटर लामो मुख्य सुरुङमध्ये १०.७१४ किलोमिटर खन्ने कार्य पूरा भइसकेपछि भौगर्भिक समस्या देखिएको उनले बताए । परियोजनामा अब २.७ किलोमिटर सुरुङ खन्ने कार्य बाँकी छ ।

‘अध्ययन गर्दा सुरुङ बन्ने सबै स्थानमा ड्रिलिङ गरेर हेरिएको हुँदैन । काम गर्दै जाँदा अहिले समस्या आयो । निर्माण कम्पनी, टिबिएम निर्माता तथा निर्यातकर्ता, परामर्शदाता सबैको प्रयासमा समस्या समाधान गरेर अगाडि बढ्न काम भइरहेको छ’ उनले भने ।

अहिले टिबिएमलाई सुरक्षितरूपमा निकालेर समस्याग्रस्त स्थानको ट्रिटमेन्ट गरी काम सुचारु गराउन विज्ञ तथा प्राविधिक टोलीले काम गरिरहेको बरालले बताए । उनका अनुसार पहिले समान प्रकारको समस्या आउँदा टिबिएम रहेको दायाँ र बायाँ छेउमा बाइपास सुरुङ बनाएर टिबिएमलाई निकाली काम सुचारु गराइएको थियो । उनले सबै समस्याको समाधान चाँडै भए अबको एक साताभित्र मुख्य सुरुङको निर्माण पुनः सुचारु गर्न सकिने बताए ।

२०७९ असोज २८ गतेबाट परियोजनाको मुख्य सुरुङ खन्न सुरु गरिएको थियो । नेपालका जलविद्युत तथा अन्य सिँचाइका परियोजनामा परम्परागत प्रविधिबाट सुरुङ निर्माण भए पनि यो परियोजनामा टनेल बोरिङ मेशिन (टिबिएम) प्रयोग गरेर खनिएको छ । यसअघि भेरी–बबई डाइभर्सन परियोजनामा पनि टिबिएमको प्रयोग गरिएको थियो ।

सुनकोसी नदीको पानी मरिण खोलामा झारेर विद्युत उत्पादन गर्ने र तराईका एक लाख २२ हजार हेक्टर खेतीयाेग्य भूमिमा सिँचाइ सुविधा उपलब्ध गराउने लक्ष्यका साथ सुरु गरिएको यो परियोजनाको सुरुङ निर्माणमा अपेक्षितभन्दा बढी प्रगति भए पनि अन्य काम सुरु हुन सकेको छैन । परियाेजना निर्माण सम्पन्न हुँदा सिँचाइसँगै ३१.०७ मेगावाट विद्युत पनि उत्पादन हुनेछ ।


Read Previous

नीलगिरिखोला दोस्रो ‘क्यासकेड’काे विद्युत दाना सबस्टेसन पुर्याउने प्रसारण लाइनकाे परीक्षण पूरा,सुरुङकाे परीक्षण चल्दै

Read Next

ट्र्याक खुलेको १५ वर्षपछि बल्ल कुश्मिसेरा-बरेङ-शान्तिपुर सडकमा कालोपत्र