Nepal Purbadhar

शनिबार, जेष्ठ ५, २०८१
Saturday, May 18, 2024

शनिबार, जेष्ठ ५, २०८१
Saturday, May 18, 2024
इप्पानले स्थापना गर्यो, नीति अनुसन्धान र भवन निर्माण कोष त्रिशूली थ्री बी हब सबस्टेसन र भाल्चे ३३ केभी सबस्टेसनकाे औपचारिक उद्घाटन ‘साढे २८ हजार मेगावाट विद्युत उत्पादनको लक्ष्य पूरा गर्न बैंकको लगानी २० प्रतिशत पुर्याउने नीति लिइनुपर्छ’ रसुवागढी नाकाबाट ९ महिनामा ४ हजार ७ सय बढी सवारी साधन आयात मौद्रिक नीति समीक्षा : सवारी कर्जाको जोखिमभार घट्यो    १० वर्षमा भारतीय बजारमा निर्यात हुने १० हजार मेगावाट विद्युत उत्पादनमा निजी क्षेत्र अग्रणी हुनेछः प्रधानमन्त्री दाहाल नुप्चे-लिखु जलविद्युत् आयोजनाकाे लिखुतर्फकाे मुख्य सुरुङ पूरा घुम्ती-रानीटारी सडक खण्डको ९ किलाेमिटर स्तरोन्नति गरिँदै  

सडक सञ्जालले सुगम बन्दै काभ्रेपलाञ्चोकका स्थानीय तह   


काभ्रेपलाञ्चोक । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले काभ्रेपलाञ्चोकका ६ गाउँपालिकालाई दुर्गम स्थानीय तहमा सूचीकृत गरेको छ । मन्त्रालयले हालै गरेको वर्गीकरणमा देशभरका स्थानीय तहलाई सुगम र दुर्गमका आधारमा विभाजन गरेको हाे । काभ्रेपलाञ्चोकको ३ तह सुगम, ६ तह दुर्गम र ४ तह मध्यममा परेका हुन् ।

मन्त्रालयको वर्गीकरणअनुसार जिल्लाका तीन पुराना नगरपालिका बनेपा, धुलिखेल र पनौती सुगममा परेका छन् । खानीखोला, चौँरीदेउराली, तेमाल, बेथानचोक, भुम्लु र महाभारत गाउँपालिका दुर्गममा परेका छन् ।

यस्तै, अन्य चार तह पाँचखाल, नमोबुद्ध, मण्डनदेउपुर नगरपालिका र रोशी गाउँपालिका मध्यममा सूचीकृत भएका हुन् । मन्त्रालयले देशभरका सबै स्थानीय तहलाई चार वर्गमा वर्गीकरण गरेको थियो ।

दुर्गममा वर्गीकृत गाउँपालिकामध्ये जिल्लाको दक्षिणी क्षेत्र (डाँडापारी)का महाभारत र खानीखोलालाई हालैमात्र निर्माण सुरु गरिएको दुई सडक सञ्जालले सुगमतातर्फउन्मुख गर्दैछ । यी दुई तह पक्की सडकमार्फत काभ्रेपलाञ्चोक हुँदै जाने दुई राजमार्गले अरनिको र बिपीसँग जोडिएर सुगमतातर्फ डोर्याउने भएका हुन् ।

गत साता मात्रै रोशी–महाभारत–खानीखोला जोड्ने जनमुक्ति मार्ग ७५ किलोमिटर र बनेपा–पनौती–बेथानचोकको ढुङ्खर्क–च्याम्राङबेंसी–ललितपुरको सुकुमफेदी हुँदै मकवानपुरको झुरझुरेसम्म ३८ किमी सहायक मार्गका रुपमा निर्माण थालनी गरिएको छ ।

सहायक मार्ग निर्माणका लागि पहिलो चरणमा रु पाँच करोड ८२ लाख ९७ हजार पाँच सय ६५ मा सम्झौता गरिएको छ । सम्झौता अनुसार निर्माणको जिम्मा लिएको जय बागेश्वरी ए.एल.इज.वेल अल्फ हेक्स जेभी काठमाडाैंले दुई वर्ष अर्थात् २०८२ असोज २४ गते सम्पन्न गर्नुपर्नेछ ।

यस्तै, ७५ किमी सडकअन्तर्गत पहिलो चरणमा देवीटारबाट गोकुलेस्थित लबडाँडासम्म कालोपत्र गर्न ३९ करोड ७४ लाख ५५ हजार १८ रुपैयाँमा १८ महिनामा सक्नेगरी निर्माण सम्झौता गरिएको छ ।

महाभारतस्थित गोकुलेका शिक्षक खुबनाथ दुलालले दुई मार्गको निर्माण सम्पन्न भएपछि डाँडापारीका नागरिकलाई शिक्षा, स्वास्थ्य सेवामा थप सहजता हुने तथा उत्पादित खाद्यान्नलगायत बिक्रीका लागि सजिलो हुने बताए । “दुर्गमलाई सुगम बनाउन मुख्यरुपमा पक्की सडक चाहिने रहेछ, त्यसपछि अन्य पूर्वाधार बनाउन निकै सजिलो हुन्छ ,” उनले भने । उनका अनुसार दुई मार्गको निरन्तरको निर्माणले डाँडापारीका दुई गाउँपालिकालाई एक/दुई वर्षमै सुगमताउन्मुख गराउने विश्वास लिइएको छ ।

जनमुक्ति मार्ग बिपी राजमार्गबाट मदन भण्डारी राजमार्गसँग जोडिन्छ भने बनेपाबाट सुरु भएको झुरझुरेसम्मको सडकले अरनिको राजमार्गबाट मदन भण्डारी राजमार्ग जोड्छ । यी दुवै मार्गको निर्माण सम्पन्न भएपछि डाँडापारीका नागरिकलाई सहरी क्षेत्रसँग पहुँच पुर्याउन सहज हुनेछ ।

सडक आयोजनाअन्तर्गत जनमुक्ति मार्गको पहिलो खण्ड तीनखुट्टे–देवीटार सडक, देवीटार–घर्तीछाप–गोकुले–ताल्ढुँगा–भोर्लेनी–झुरझुरे सडक, बिपी राजमार्गको पिन्थली–रजबास खण्ड र रजबास–देवीटार खण्ड रहेको छ । दुई सडकखण्डको निर्माण प्रारम्भ भएसँगै थप दुई खण्डको बोलपत्र गरिने बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले जनाएको छ ।

पक्की सडक निर्माण भएपछि स्थानीयस्तरमा उत्पादित खाद्यान्नलगायत सामग्रीलाई सहजरुपमा बजार पुर्याउन सकिनेछ भने नागरिक बिरामी हुँदा सुविधानसम्पन्न अस्पताल पुर्याउन सहज हुन्छ । स्थानीय सरकारको सक्रियता, प्रदेश र सङ्घ सरकारको समन्वयमा विकट पालिका सुगमतामा परिणत हुन थालेको बताइन्छ ।

महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले बजेट विनियोजनका हिसाबले महाभारतको विकासमा फड्को मार्न सकिने बताए । “भौगोलिकता, निर्माण व्यवसायीको ढिलासुस्ती तथा अन्य विविध कारणले विनियोजन गरिएको बजेट खर्च हुन नसक्दा भने दुःख लाग्छ”, उनले भने ।


Read Previous

मातातीर्थ र फाखेल-फर्पिङ सडक २ महिना बन्द हुने   

Read Next

झापाका १७ हजार विपन्न परिवारलाई सुधारिएको चुलो वितरण   

Leave a Reply

Your email address will not be published.