Nepal Purbadhar

शुक्रबार, जेष्ठ ४, २०८१
Friday, May 17, 2024

शुक्रबार, जेष्ठ ४, २०८१
Friday, May 17, 2024
इप्पानले स्थापना गर्यो, नीति अनुसन्धान र भवन निर्माण कोष त्रिशूली थ्री बी हब सबस्टेसन र भाल्चे ३३ केभी सबस्टेसनकाे औपचारिक उद्घाटन ‘साढे २८ हजार मेगावाट विद्युत उत्पादनको लक्ष्य पूरा गर्न बैंकको लगानी २० प्रतिशत पुर्याउने नीति लिइनुपर्छ’ रसुवागढी नाकाबाट ९ महिनामा ४ हजार ७ सय बढी सवारी साधन आयात मौद्रिक नीति समीक्षा : सवारी कर्जाको जोखिमभार घट्यो    १० वर्षमा भारतीय बजारमा निर्यात हुने १० हजार मेगावाट विद्युत उत्पादनमा निजी क्षेत्र अग्रणी हुनेछः प्रधानमन्त्री दाहाल नुप्चे-लिखु जलविद्युत् आयोजनाकाे लिखुतर्फकाे मुख्य सुरुङ पूरा घुम्ती-रानीटारी सडक खण्डको ९ किलाेमिटर स्तरोन्नति गरिँदै  

कालीगण्डकी करिडोर सडक : ४ वर्षपछि नागढुङ्गा-काभ्रे खण्डको काम सुरु   


म्याग्दी । राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडक योजनाअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको नागढुङ्गादेखि काभ्रे खण्डमा ४ वर्षपछि सडक निर्माण पुनः प्रारम्भ भएको छ । २०७६ चैतमा कोरोना महामारी फैलिएपछि रोकिएको अन्नपूर्ण गाउँपालिका–२ नागढुङ्गादेखि वडा नम्बर ३ को काभ्रे खण्डमा सडक निर्माणको काम सुरु भएको हो ।

नागढुङ्गा–काभ्रे खण्डको सडक विस्तार र कालोपत्रका लागि सञ्चालित योजनाका ठेकेदार ४ वर्षपछि काममा फर्किएकाे अन्नपूर्ण गाउँपालिका–३ का वडाध्यक्ष रमेश पुर्जाले राससलाई जानकारी दिए । “लामो समयको प्रतीक्षापछि ठेकेदार काममा फर्किएकाले सडकको अवस्था सुधार हुने अपेक्षा गरेका छौँ । निर्माणलाई गति दिन सहजीकरण र समन्वय गरिरहेका छौँ ,” उनले भने ।

२०७४ मा निर्माण कम्पनी शर्मा–गजुरमुखी नागढुङ्गा–कैकुखोला खण्डको १६.५ किलोमिटर सडक कालोपत्रसहित स्तरोन्नति गर्न ठेक्का सम्झौता गरेको थियो । २०७७ असार र साउन महिनाको पहिरोको तथा कालीगण्डकी नदीको कटानका कारण नागढुङ्गा–काभ्रे खण्डको सडकमा क्षति भएको थियो ।

पहिरोपछि बीमा दाबी प्रक्रियामा भएको ढिलाइले रोकिएको सडक निर्माणलाई पुनः थालिएको शर्मा–गजुरमुखीका आयोजना व्यवस्थापक नरेन्द्र न्यौपानेले बताए । “आगामी जेठ महिनाभित्र सडक निर्माणलाई पूर्णता दिने कार्ययोजनाका लागि उपकरण, मजदुर परिचालन गरेका छौँ”, उनले भने, “हाल एक सय १० जना मजदुर, चारवटा ब्रेकरसहितको डोजरलगायत आवश्यक उपकरण निर्माणस्थलमा ल्याइएको छ ।”

२०७६ मा निर्माण सकिनुपर्ने यो सडकको निर्माण अवधिसँगै लागत पनि बढेको छ । पछिल्लोपटक भएको ‘भेरियसन अर्डर’सहित लागत ६३ करोड रुपैयाँ पुगेको छ । हालसम्म ६५ प्रतिशत भौतिक प्रगति भएको बेनी–जोमसोम–कोरला सडक योजनाका इञ्जिनियर विष्णु चापागाईले बताए । घाँसा–कैकुखोला खण्डको दुई किलोमिटर सडकमा डिबिएसडी प्रविधिको कालोपत्र गर्ने काम सकिएको छ ।

म्याग्दी र मुस्ताङको सिमानामा पर्ने काभ्रे र बाँदरजुङभिर क्षेत्रमा करिब एक किलोमिटर दूरीमा विस्फोटक पदार्थको प्रयोग गरी सडकलाई ८ मिटर फराकिलो बनाएर ढलान गरिएको छ । सोही सडकमा छ सय मिटर ढलानको तयारी गरिएको छ ।

पहिरो र कटानको उच्च जोखिमका कारण विभिन्न ठाउँमा २.५ किलोमिटर सडकलाई कालोपत्रबाट झिकिएको छ । नागढुङ्गा–काभ्रे खण्डमा ८.५ किलोमिटर दूरीमा डिबिएसडी प्रविधिको कालोपत्र गर्ने तयारी भएको हो ।

बेनी–जोमसोम–कोरला सडक योजनाअन्तर्गत म्याग्दीको बेगखोला–नागढुङ्गा खण्डको करिब १० किलोमिटर सडक पनि कालोपत्र सुरु भएको छ । शर्मा–युनाइटेड कम्पनीले ठेक्का लिएको यो सडकको नागढुङ्गादेखि बेगखोलातर्फ ‘प्राइम कोड’ बिछ्याउन थालिएको हो । यो खण्डमा सडक विस्तार, नाली, पर्खाल निर्माण सकेर ‘बेस’ र ‘सब बेस’सँगै प्राइम कोड बिछ्याउने काम भइरहेको आयोजनाले जनाएको छ ।

राहुघाट–बेगखोला खण्डको राहुपारेदेखि कुनौटासम्म ६ किलोमिटर सडक ४ वर्षअघिनै कालोपत्र भए पनि धेरै ठाउँमा जीर्ण बनिसकेको छ । राहुघाट–बेगखोला खण्डको बाँकी भाग स्तरोन्नति र कालोपत्रको कामलाई नागढुङ्गा–बेगखोलाको काम सकेपछि पूर्णता दिने निर्माण कम्पनीले जनाएको छ ।

भारत र चीनलाई जोड्ने ४३५ किलोमिटर लामो कालीगण्डकी करिडोर सडकलाई गण्डकी प्रदेशको भाग्यरेखा मानिएको छ । पर्वतको मालढुुङ्गादेखि म्याग्दी हुँदै मुुस्ताङस्थित चीनको स्वशासित क्षेत्र तिब्बतको कोरला नाका जोड्ने दुई सय दुई किलोमिटरसडक दुई लेनको कालोपत्र र ग्राभेल बनाउन २०७३/०७४ देखि सुरु भएको योजनाको हालसम्म ७५ प्रतिशत भौतिक प्रगति भएको छ ।

उक्त सडकको ६ खण्डमा ८५ किलोमिटर ग्राभेल र ३ खण्डमा १९ किलोमिटर कालोपत्र गरिएको छ । उक्त सडक योजनाअन्तर्गत १३ वटा पक्की पुल र ३ वटा बेलिब्रिज निर्माण भएका छन् ।


Read Previous

बागलुङका दुर्गम गाउँमा विद्युत पहुँ पुर्याउन प्रसारण लाइन विस्तार   

Read Next

ग्लोबल आइएमई बैंकको १७औं वार्षिकोत्सवका अवसरमा क्यूआर पेमेन्टमा १७ प्रतिशत छुट

Leave a Reply

Your email address will not be published.