Nepal Purbadhar

आइतवार, बैशाख ३०, २०८१
Sunday, May 12, 2024

आइतवार, बैशाख ३०, २०८१
Sunday, May 12, 2024

सिँचाइ योजनाले फेरियो मालिकाका किसानको दैनिकी


गुल्मी । गुल्मीे मालिका गाउँपालिकाका किसान यतिबेला खुसी छन् । उनीहरुको खुुसीको कारण हो, दुई करोड रुपैयाँभन्दा बढी लागतमा निर्माण भएको सिँचाइ योजना । सिँचाइको अभावमा वर्षौदेखि आकाशे पानीको भर पर्दै आएका यहाँका किसानमा यतिबेला खेतखेतमा सिँचाइ सुविधा पुगेपछि थप जाँगर पलाएको छ । पक्की नहरको माध्यमबाट किसानका खेतखेतमा सिँचाइ पुगेपछि वर्षौदेखि बाँझिएका खाली जमिन हराभरा बनेका छन् ।

सिँचाइका कारण किसानले समयअनुसारका अन्नवाली उत्पादन गर्न थालेका छन् । जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय गुल्मीको सहयोगमा मालिका गाउँपालिका–६ अन्तर्गत भैसेरुम्टामा सिँंचाइ योजना निर्माण भएपछि यतिबेला त्यहाँका किसानको दैनिकीसमेत फेरिएको हो । स्थानीयको लामो समयको प्रयासपछि गत तीन वर्षअघि शुरु भएको योजनाले यो वर्ष पूर्णता पाएको हो । सिँचाइ योजना निर्माणको जिम्मा पाएको अञ्जना श्रेष्ठ जेभी र जल उपभोक्ता समितिको सहयोगमा निर्धारित समयमै निर्माण सम्पन्न गरेको जलश्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय गुल्मीका प्रमुख भरतप्रसाद सापकोटाले जानकारी दिए ।

स्थानीय अर्जै खोलावाट पानीको स्रोत व्यवस्थापन गरी निर्माण गरिएको उक्त सिँचाइ नहरको कुल लम्बाई तीन हजार छ सय ५० मिटर छ । गाउँको फाँटमा सिँचाइ पुगेपछि त्यस क्षेत्रको ६० हेक्टर क्षेत्रफलमा सिँचाइ पुगेको र ६५ घरधुरी प्रत्यक्ष लाभान्वित बनेको कार्यालय प्रमुख सापकोटाले बताए । पानीको अभावमा खेत बाँझै राखेर बस्न विवश त्यस क्षेत्रका किसानलाई सिँचाइ योजनाले ठूलो राहत पुगेको स्थानीय भैसेरुम्टा सिँंचाइ योजनाका अध्यक्ष देविराम गौतमले भने ।

‘सिँचाइको अभावमा खेत बाँझै राखेर बजारवाट चामल किनेर खानुपर्ने बाध्यता थियो, तर अहिले तिनै बाँझा खेतमा सिँचाइ पुगेपछि लहलह धान झुल्न थालेका छन, अब त बजारबाट चामल बेसाउनु पनि पर्दैन’, स्थानीय देवीराम गौतमले भने । योजनाको दिगो व्यवस्थापन गर्न ठूलो चुनौती रहेको भन्दै सिँचाइ विकास डिभिजन कार्यालय गुल्मीका प्रमुख भरतप्रसाद सापकोटाले स्थानीय समुदाय र उपभोक्ताले नै त्यसको संरक्षण र सम्वद्र्धनमा ध्यान दिनसकेमा योजना दिगोरुपमा सञ्चालन गर्न सकिने बताएका छन् ।


Read Previous

कास्कीमा नयाँ उद्योग दर्ता घट्यो

Read Next

ग्रामीण सडक निर्माणले कर्णाली राजमार्गमा क्षति

Leave a Reply

Your email address will not be published.