Nepal Purbadhar

सोमवार, बैशाख ३१, २०८१
Monday, May 13, 2024

सोमवार, बैशाख ३१, २०८१
Monday, May 13, 2024

कास्कीमा नयाँ उद्योग दर्ता घट्यो


कास्की । कोरोना सङ्क्रमण र आर्थिक मन्दीका कारण यसवर्ष कास्कीमा नयाँ उद्योग दर्ताको सङ्ख्या घटेको छ । कास्कीमा आर्थिक वर्ष २०७८र७९ मा दुई हजार तीन सय ६५ नयाँ उद्योग दर्ता भएकामा गत आव २०७९र८० मा नौ सय ९५ वटा मात्रै रहेको छ । घरेलु तथा साना उद्योग कार्यालय कास्कीका प्रमुख उद्योग अधिकृत शेषकान्त पैडेलले कोरोना र आर्थिक मन्दीकै कारण नयाँ उद्योग दर्ता सङ्ख्या घटेको हुनसक्ने बताए ।

कार्यालयका उद्योग अधिकृत महराज ढकालका अनुसार गत आवमा नयाँ उद्योग दर्ता सङ्ख्या घटे पनि बक्यौता राजस्व बुझाउनेको सङ्ख्या बढ्दा राजस्व भने वृद्धि भएको छ । आर्थिक वर्ष २०७८/७९ मा दुई करोड १२ लाख ३० हजार ६ सय ३१ रुपैयाँ राजस्व सङ्कलन हुँदा २०७९/८० मा दुई करोड ३९ लाख ९० हजार नौ सय ८९ रुपैयाँ राजस्व सङ्कलन भएको छ । विभिन्न उद्योगमध्ये पर्यटनमूलक, कृषि तथा वनपैदावार र सेवामूलक उद्योग दर्ता गराउनेको सङ्ख्या भने केही मात्रामा बढेको छ । आव २०७९/८० मा पर्यटनसम्बन्धस् तीन सय ३८ वटा उद्योग दर्ता भएका थिए भने ऊर्जा र खनिजसम्बन्धी उद्योग भने एउटा पनि दर्ता भएनन् ।

आव २०७९/८० कास्कीमा कृषि तथा वनपैदावार उद्योगतर्फ तीन सय १७, सेवामूलक उद्योगतर्फ एक सय ९८, उत्पादनमूलक उद्योगतर्फ एक सय ३५ र सूचना प्रविधिमा आधारित सातवटा उद्योग दर्ता भएको जानकारी उद्योग अधिकृत ढकालले दिए । त्यस्तै आर्थिक वर्ष २०७८/७९ मा सबैभन्दा धेरै कृषि तथा वनपैदावारमा आधारित आठ सय ८८ वटा उद्योग दर्ता भएका थिए भने ऊर्जा र खनिजसम्बन्धी उद्योग भने एउटा पनि दर्ता भएका थिएनन् । पर्यटनमूलक उद्योगमा सात सय चार, सेवामूलक उद्योगमा पाँच सय ४७, उत्पादनमूलक उद्योगमा दुई सय १६ र सूचना प्रविधिमा आधारित १० वटा उद्योग दर्ता भएको ढकालले बताएका छन् ।

कास्कीका उद्योगमा आव २०७८/७९ मा रु चार अर्ब ८९ करोड ५२ लाख पुँजी लगानी भएको थियो भने आव २०७९/८० मा रु तीन अर्ब २७ करोड १९ लाख पुँजी लगानी भएको प्रमुख उद्योग अधिकृत पौडेलले भने । आव २०७८/७९ मा दुई हजार ६ सय ११ महिलासहित चार हजार आठ सय ३७ जनालाई विभिन्न उद्योगमा रोजगार सिर्जना हुँदा आव २०७९/८० मा एक हजार सात सय ५१ जना महिलासहित तीन हजार नौ सय ६७ जनाले रोजगार प्राप्त गरेका छन् । कास्की जिल्लामा विभिन्न प्रकृतिका २३ हजार ६ सय २९ उद्योग दर्ता भएका छन् ।


Read Previous

विद्युत् नपुगेको छेन्तुङमा सोलार ऊर्जा

Read Next

सिँचाइ योजनाले फेरियो मालिकाका किसानको दैनिकी

Leave a Reply

Your email address will not be published.