Nepal Purbadhar

आइतवार, बैशाख ३०, २०८१
Sunday, May 12, 2024

आइतवार, बैशाख ३०, २०८१
Sunday, May 12, 2024

पहिरोको अध्ययन गर्न भूगर्भ विभागको टोली जलजलामा


पर्वत । पहिरोले नोक्सान पु¥याएपछि अध्ययन गर्न खानी तथा भूगर्भ विभागको टोली पर्वतको जलजला गाउँपालिकामा आइपुगेको छ । खानी तथा भूगर्भ विभागअन्तर्गत राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको टोली बुधबार जलजला गाउँपालिका–५ कुवापानी पुगेको हो ।

टोलीमा विभागका भूगर्भविद् अनिस खनाल, प्राविधिक विरास मल्ल र इन्जिनियर ईश्वर न्यौपाने छन् । टोलीले बुधबारदेखिनै पहिरोको अध्ययन थालेको छ । स्थलगत अध्ययन र ल्याब परीक्षणपछि रिपोर्ट तयार गर्ने भूगर्भविद् अनिस खनालले जानकारी र्दिए । प्रारम्भिकरुपमा हेर्दा पहिरो पहाडबाट छुट्टिएको र पहिरोमुनिको बस्ती परम्पराकालमै पहिरो गएकै स्थानमा बसेकाले पनि थप जोखिम रहेको उनको भनाइ छ । “विस्तृत विवरण अध्ययन र सबै क्षेत्रको अवलोकनपछि आउँछ”, उनले भने, “भूकम्पलगायत विभिन्न कारणले यो क्षेत्र जोखिममा परेको हो ।”

टोलीले उक्त क्षेत्रको भौगोलिक अवस्थाबारे अध्ययन अनुसन्धान गर्नुका साथै थप जोखिम हुने अवस्था, निराकरणका उपाय र पहिरोले क्षति पु¥याएका बस्ती स्थानान्तरण गर्नुपर्ने या नपर्ने विषयमा समेत प्रतिवेदन तयार पार्ने भएको छ । जिल्ला विपद् व्यवस्थापन समिति, स्थानीय जलजला गाउँपालिका तथा जिल्लास्थित भू तथा जलाधार व्यवस्थापन कार्यालयलगायतको पटक–पटकको अवलोकन र नियन्त्रणको प्रयाससमेत असफल भएपछि भूगर्भविद्को टोली ल्याउनुपरेको प्रमुख जिल्ला अधिकारी प्रेम आचार्यले जानकारी दिए ।

टोलीको प्रतिवेदनको आधरामा उक्त क्षेत्रको संरक्षणका लागि पहल थालिने छ । कुवापानीबाट खसेको पहिरोले जलजला–२ पूर्णगाउँ, मुलघडेरी, नेपानेका सात परिवार विस्थापित भएका छन् भने झण्डै ८५ रोपनी खेतीयोग्य जमिन बगरमा परिणत भएको छ । असार दोस्रो सातादेखि पानी परेको समयमा लेदोसहितको पहिरो आउन थालेको जलजला गाउँपालिकाका उपाध्यक्ष दीपक आचार्यले जानकारी दिए । “पानी पर्नासाथ पहिरो खस्ने समस्या छ, अहिले सात परिवार घर छाडेर अन्यत्र गएका छन्”, उनले भने ।


Read Previous

अन्तरदेशीय विद्युत व्यापारसँगै आन्तरिक खपत वृद्धिका लागि पूर्वाधारमा लगानी बढाउन जोड

Read Next

आन्तरिक पर्यटनको गन्तव्यस्थल बन्दै ‘ऐनापहरा’

Leave a Reply

Your email address will not be published.