Nepal Purbadhar

बिहिबार, बैशाख २७, २०८१
Thursday, May 9, 2024

बिहिबार, बैशाख २७, २०८१
Thursday, May 9, 2024

भरतपुर महानगरले लगानी अभावमा ठप्प गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाकाे निर्माण गर्ने


चितवन । चितवनकाे भरतपुर महानगरपालिकाले वडा नम्बर-१५ मा निर्माण रोकिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम सुचारु गर्ने भएकाे छ । महानगरपालिकाले सङ्घीय सरकारसँग पहलबाट तिर्नुपर्ने रकम मन्त्रिपरिषद्बाट निर्णय गरी भुक्तान गराएर रंगशालाकाे बाँकी काम अघि बढाउने भएकाे हाे ।

रंगशालाकाे काम चाँडै अघि बढाउने सम्बन्धमा छिट्टै मन्त्रिपरिषद्बाट निर्णय हुने भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले बताइन् । धुर्मुस–सुन्तली फाउन्डेसनले रङ्शाला निर्माणका क्रममा रकम अभाव भएको भन्दै काम छोडेपछि झन्डै दुई वर्षदेखि रङ्गशाला अलपत्र अवस्थामा छ । फाउन्डेसनले विभिन्न व्यक्ति र संस्थालाई १८ करोड ४१ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको जनाएको छ ।

भुक्तान गर्नुपर्ने रकम तिर्ने विषयमा समस्या भएकाले काम रोकिएको थियाे । दाहालका अनुसार भुक्तान दिनुपर्नेलाई सरकारी तवरबाट रकम निकासा गरी भुक्तानी गरेर नयाँ प्रक्रियाबाट रङ्गशालाको काम गर्न लागिएको हो ।

“रकम तिर्नुपर्ने नभएको भए पहिले नै काम हुन्थ्यो । तिर्नुपर्ने बाँकी रहेकै कारण काम अघि वढाउन ढिलाइ भएको हो ” दाहालले भनिन् ।  खेलकुद मन्त्रालयले तत्कालीन सहरी विकास मन्त्रालयका सहसचिव प्रकीर्ण तुलाधरको संयोजकत्वमा खेलकुद मन्त्रालय र भरतपुर महानगरपालिकाको प्रतिनिधि रहेको समिति गठन गरी अध्ययनसमेत गराएको छ ।

सो समितिले प्राविधिक र आर्थिक प्रतिवेदन बुझाइसकेको छ । दाहालका अनुसार तिर्नुपर्ने भुक्तानी तिरेर सङ्घीय सरकारले बोलपत्र आह्वान गरी काम अघि बढाउँदैछ । यो रङ्गशाला यहाँ निर्माणका लागि पहल कदमी गर्नुहुने तत्कालीन चितवन क्षेत्र नम्बर–३ का सांसदसमेत रहेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ अहिले प्रधानमन्त्री छन् । जिल्लामा रङ्गशाला स्थापनाकालदेखि नै उनकाे पहलकदमी रहेकाले यसलाई टुङ्गोमा पुर्याउन  प्रधानमन्त्री दाहालकोसमेत चाहना रहेको उनले बताइन् ।

तिर्नुपर्ने भुक्तानीको टुङ्गो लागेसँगै सकेसम्म यसै आर्थिक वर्षबाट बहुवर्षीय आयोजनाभित्र पारेर काम सुरु हुने प्रमुख दाहालको भनाइ छ । भरतपुर महानगरपालिकाले रङ्गशाला निर्माणका लागि त्रिभूवन विश्वविद्यालयका नाममा लालपुर्जा रहेर कृषि तथा वन विज्ञान विश्वविद्यालयले भोगचलन गरेको २० बिघा छ कट्ठा जग्गा उपलब्ध गराएको थियो ।

निर्माणको समयमा फाउण्डेसनले भुक्तान गर्नुपर्ने बाँकी रकम कहाँबाट तिर्ने भन्ने स्पष्ट कानुनी व्यवस्था नभएका कारण समस्या आएको हो । २०७५ साल माघ १६ गते महानगरपालिका र फाउण्डेसनबीच भएको सहमतिअनुसार निर्माण सम्पन्न गरेर वा स्रोत जुट्न नसके तत्काल हस्तान्तरण गर्ने उल्लेख भएको छ ।

फाउण्डेसनले निर्माणको ३५ प्रतिशत काम सम्पन्न भएको महानगरपालिकालाई हस्तान्तरण गर्दा जनाएको थियो । फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेलका अनुसार निर्माणका क्रममा ५७ करोड ९२ लाख रुपैयाँ खर्च भएको छ । सोमध्ये नगद र जिन्सी गरी ३९ करोड ८० लाख रुपैयाँ उठेको कट्टेल बताउँछन् । रकम तिर्न नसके पछि २०७७ साउनदेखि रङ्गशाला निर्माणको काम रोकिएको हो ।

निर्माणका क्रममा सार्वजनिक खरिद ऐनअनुसार काम नभएका कारण सरकारी निकायले भुक्तानी गर्नुपर्ने रकमको जिम्मा लिन कठिन भएकै कारण धेरै समय लागेको हो । महानगरपालिकाले सहमतिविपरीत फाउण्डेसनले भुक्तानी तिर्नुपर्ने अवस्थामा हस्तान्तरण गरेको भन्दै विमती जनाउँदै आएको छ ।


Read Previous

मनाङ मर्स्याङ्दी जलविद्युत आयोजना निर्माणले गति लियाे

Read Next

एमसीसी प्रसारण लाइन परियाेजना अन्तर्गत प्रस्तावित ३ सबस्टेसन निर्माण गर्न बोलपत्र आह्वानकाे तयारी

Leave a Reply

Your email address will not be published.