Nepal Purbadhar

मनाङ मर्स्याङ्दी जलविद्युत आयोजना निर्माणले गति लियाे


मनाङ । बुटवल पावर कम्पनी (बिपिसी) ले प्रवर्द्धन गरेकाे लगानी रहेकाे १३५ मेगावाट क्षमताको मनाङ मर्स्याङ्दी जलविद्युत आयोजनाको निर्माणले गति लिएकाे छ । गत पुस अन्तिम साताबाट निर्माण सुरु भएकाे आयोजनाकाे निर्माणले तीव्रता पाएकाे हाे ।

चिसाे कम भइ मौसम अनुकूल भएपछि निर्माणले तीव्रता पाएको आयोजनाकाे प्रवर्द्धक कम्पनीले जनाएकाे छ । पहिले नै निर्माण सुरु गर्ने याेजना रहेपनि काेभिड–१९ महामारीका कारण २ महिनाअघिबाट  निर्माण थालिएको थियाे ।

अबकाे ४ वर्षभित्र विद्युत उत्पादन गर्ने गरी एउटा नेपाली र ३ वटा चिनियाँ कम्पनीको साझेदारीमा आयोजना निर्माण भइरहेकाे बिपिसीका को-अर्डिनेटर प्रतिक महर्जनले बताए । आयोजना निर्माणका लागि बुटवल पावर कम्पनीसहित एससीआइजी इन्टरनेशनल, छिङचेङ इन्टरनेसनल र चिनियाँ लगानीकर्ता क्यूवाईसी इन्टरनेसनलले जिम्मेवारी लिएका छन् ।

आयोजनामा नेपाली साझेदार बिपीसीको २० प्रतिशत र ३ चिनियाँ कम्पनीको संयुक्त रूपमा ८० प्रतिशत लगानी छ । कूल ३३ अर्ब ३८ करोड रुपैयाँ मध्ये २० प्रतिशत स्वपुँजी र ८० प्रतिशत ऋण लगानी रहने महर्जनले बताए ।

याे आयोजनाबाट वार्षिक ७६६.५९३ गिगावाट विद्युत उत्पादन हुनेछ । उनकाे अनुसार आयोजनाबाट वार्षिक ७५ करोड ९ लाख ४८ हजार ८ सय ७५ युनिट विद्युत् उत्पादन हुने प्रारम्भिक अध्ययनले देखाएको छ । बिपिसीकाे सहायक मनाङ मर्स्याङ्दी हाइड्राेपावर कम्पनी मार्फत आयाेजना निर्माण भइरहेकाे छ ।

सम्भाव्यता अध्ययनअनुसार आयोजनाको ग्रस हेड ४३०.२० मिटर छ । मुख्य सुरुङ ६.०७५ किलोमिटर छ । आयोजना निर्माणका लागि सम्बन्धित कम्पनी र  सरकारबीच २०७९ पुस ३ मा सम्झौता भएको थियो ।


Read Previous

उद्योग, प्रतिस्ठान एवं आयोजना सञ्चालन प्रभावको स्वःअनुगमन प्रतिवेदन बुझाउन विभागको ताकेता

Read Next

भरतपुर महानगरले लगानी अभावमा ठप्प गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाकाे निर्माण गर्ने