Nepal Purbadhar

पशुपति क्षेत्रका ६३ सम्पदाको पुनः निर्माण सम्पन्न


काठमाडौं । विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रका ६३ सम्पदाको पुनःनिर्माण सम्पन्न भएका छन्।

विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त पशुपति क्षेत्रका ९० सम्पदामध्ये ६३ को पुनःनिर्माण सम्पन्न भएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा मिलनकुमार थापाले जानकारी दिए।

हाल ११ सम्पदाको पुनःनिर्माण भइरहेको छ। पशुपति क्षेत्रमा भूकम्पले क्षति भएका १६ सम्पदाको पुनःनिर्माण सुरु हुनसकेको छैन। स्रोत सुनिश्चितता हुन नसकेका यी सम्पदाको पुनःनिर्माण हुन नसकेको हो।

हालसम्म जयवागेश्वरी, जीतजगप्रकाशेश्वर मन्दिर, गौरीघाट चौघेरा सत्तल, मृगस्थली क्षेत्रका शिवालय, दाफा भजन पाटी, कुलानन्द झा सत्तल, शङ्कराचार्य मन्दिर, घ्याम्पेपाटीलगायत सम्पदाको पुनःनिर्माण सम्पन्न भएको छ। विश्वरुप मन्दिर पुनःनिर्माण भइरहेकामा बजेट अभावका कारण काममा सुस्तता भएको जनाइएको छ।

विश्वरुप पुनःनिर्माणका लागि चालू आवको बजेट सकिएपछि काममा सुस्तता आएको हो। जयवागेश्वरी मन्दिर हालै पुनःनिर्माण भएकामा यही माघ २० गते उद्घाटनको कार्यक्रम रहेको कोषले जनाएको छ।


Read Previous

बैंक तथा वित्तीय संस्थालाई कर्जा प्रवाहमा कडाइ

Read Next

पानीका मुहानबारे अध्ययन गर्न फिन्डल्याण्डको टोली नमोबुद्धमा