
काठमाडौं। नागरिक एपमा ‘रक्त सूचना’ पोर्टल थपिएको छ। यससँगै अब देशभरका रक्तसञ्चार केन्द्रमा उपलब्ध रगतको मौज्दात नागरिक एपमार्फत नै रियल–टाइममा हेर्न सकिने भएको छ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अनुसार नयाँ सेवामार्फत प्रयोगकर्ताले विभिन्न रक्तसञ्चार केन्द्रमा कुन रक्त समूहको रगत कति युनिट उपलब्ध छ भन्ने जानकारी एकै स्थानबाट प्राप्त गर्न सक्नेछन्। आवश्यक रक्त समूह कहाँ उपलब्ध छ भन्ने जानकारी पनि नागरिक एपबाटै सहज रूपमा हेर्न सकिनेछ।
स्वास्थ्य सेवा पहुँचलाई थप प्रभावकारी, पारदर्शी र प्रविधिमैत्री बनाउने उद्देश्यले ‘रक्त सूचना’ पोर्टल नागरिक एपमा एकीकृत गरिएको मन्त्रालयले जनाएको छ।
यस सेवाबाट आकस्मिक अवस्थामा रगतको खोजी गर्नुपर्ने बिरामी तथा उनका आफन्तलाई आवश्यक जानकारी छिटो उपलब्ध हुने विश्वास गरिएको छ। साथै, रक्त व्यवस्थापनलाई थप व्यवस्थित बनाउन र रक्तसञ्चार सेवाबीच समन्वय बढाउन पनि यसले सहयोग पुग्ने अपेक्षा गरिएको मन्त्रालयको भनाइ छ।
नागरिक एपमा थपिएको यो सुविधाले रगतको उपलब्धतासम्बन्धी जानकारी सहज रूपमा प्राप्त हुने भएकाले स्वास्थ्य सेवामा डिजिटल प्रविधिको प्रयोग थप प्रभावकारी बन्ने विश्वास गरिएको छ।

