Nepal Purbadhar

तीन महिनामा २ हजार ४६ वेपत्ता बालबालिका सकुशल फेला, १६९ जनाको उद्धार

एआई तस्बीर।


काठमाडौं। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत सञ्चालित बालबालिका खोजतलास समन्वय केन्द्र (१०४) ले पछिल्लो करिब तीन महिनाको अवधिमा २,०४६ हराएका बालबालिकालाई सकुशल फेला पारेको छ। साथै बेवारिसे तथा सडकमा आश्रित १६९ बालबालिकाको उद्धार गरी संरक्षणमा ल्याइएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार २०८२ चैत १३ देखि २०८३ असार १० गतेसम्मको अवधिमा हराएका २,४४० बालबालिकासम्बन्धी विवरण केन्द्रमा दर्ता भएको थियो। तीमध्ये २,०४६ जना अर्थात् करिब ८४ प्रतिशत बालबालिका सकुशल फेला परेका छन्। बाँकी ३९४ बालबालिकाको खोजी नेपाल प्रहरी तथा सम्बन्धित निकायसँगको समन्वयमा जारी रहेको छ।

यही अवधिमा बेवारिसे अवस्थामा फेला परेका १०३ बालबालिकाको उद्धार गरी संरक्षणमा ल्याइएको छ। तीमध्ये ६० जनालाई परिवारसँग पुनर्मिलन गराइएको छ भने ४३ जना हाल संस्थागत संरक्षणमा रहेका छन्।

त्यस्तै सडकमा आश्रित ६६ बालबालिकाको उद्धार गरिएको मन्त्रालयले जनाएको छ। उद्धार गरिएकामध्ये २१ जनालाई परिवारसँग पुनर्मिलन गराइएको छ भने ४५ जना संस्थागत संरक्षणमा रहेका छन्।

समग्रमा बेवारिसे अवस्थामा फेला परेका र सडकमा आश्रित गरी कुल १६९ बालबालिकाको उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये ८१ जनालाई परिवारसँग पुनर्मिलन गराइएको छ भने ८८ जना हाल सुरक्षित संस्थागत संरक्षणमा रहेका छन्।

मन्त्रालयले नेपाल प्रहरी, स्थानीय तह, राष्ट्रिय बाल अधिकार परिषद् तथा अन्य सरोकारवाला निकायसँगको समन्वयमा जोखिममा रहेका बालबालिकाको शीघ्र खोजतलास, उद्धार, संरक्षण तथा पारिवारिक पुनर्मिलनलाई उच्च प्राथमिकताका साथ अघि बढाउँदै आएको जनाएको छ।


Read Previous

१० प्रतिशत छात्रवृत्ति अनिवार्य गर्न सात विश्वविद्यालयले थाले प्रक्रिया

Read Next

नेपाल भारत ऊर्जा सचिवस्तरीय बैठकमा फुकोट कर्णाली पनि एजेण्डा, अरु के के छन् ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar