Nepal Purbadhar

रसुवागढी हाइड्रोले प्राधिकरणले पठाएको सीईओलाइ इन्कार गर्दै नयाँ विज्ञापन निकाल्यो


काठमाडौं । रसुवागढी हाइड्रोपावर कम्पनीमा प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्तिलाई लिएर नेपाल विद्युत् प्राधिकरण र कम्पनी व्यवस्थापनबीच विवाद देखिएको छ । प्राधिकरणले सिफारिस गरेका सूर्य पौडेललाई कम्पनीले कार्यकारी जिम्मेवारी दिन अस्वीकार गरेको हो ।

विद्युत् प्राधिकरणले असार २४ गते सूर्य पौडेललाई कम्पनीमा सीईओका रुपमा हाजिर हुन पत्राचार गरेको थियो । सोही पत्रका आधारमा पौडेल असार ३२ गते कम्पनीमा हाजिर भए पनि उनलाई प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी भने दिइएन। कम्पनीको सञ्चालक समितिले खुला प्रतिस्पर्धाबाट नियुक्त गर्ने भन्दै जिम्मेवारी दिन अस्वीकार गरेको हो ।

रसुवागढी हाइड्रोपावरमा नेपाल विद्युत् प्राधिकरणको बहुमत सेयर स्वामित्व भए पनि कम्पनीले प्राधिकरणको निर्देशन कार्यान्वयन नगरेको हो । यस घटनाले कम्पनीमा प्राधिकरणको प्रभाव र नियन्त्रणमाथि नै प्रश्न उठाएको छ ।

प्राधिकरणले आफ्नो निर्णय कार्यान्वयन गराउन नसकेको र कम्पनी व्यवस्थापनले त्यसको सुनुवाइ गर्न सकेको छैन । यसले बहुमत सेयरधनीको हैसियतमा प्राधिकरणको संस्थागत पकड कमजोर भएको देखाएको छ ।

यस विषयमा नेपाल विद्युत् प्राधिकरण तथा रसुवागढी हाइड्रोपावर कम्पनीको आधिकारिक धारणा भने सार्वजनिक हुन बाँकी छ । ‘यो खाली एउटा व्यक्तिलाई सीईओ नबनाइएको विषय होइन् । सूर्य पौडेललाई सीईओको जिम्मेवारी नदिइएको विषय होइन् । चिलिमेको सहायक कम्पनीले प्राधिकरणलाई टेर्न छोडेको विषय हो । त्यो कम्पनीमा प्राधिकरणको कुनै निर्णय नलाग्ने विषय हो,’ प्राधिकरणका एक अधिकारीले भने, ‘आयोजना बनाउन प्राधिकरण चाहियो ।कुनै अप्ठ्यारो र समस्या पर्दा चाहियो । अहिले बाइपास हुन थाल्यो ।’

कम्पनीले सोमबार नै सीईओका लागि विज्ञापन खुलाएको छ ।


Read Previous

के विज्ञापनमा सेन्सर लागेको हो? बोर्डको स्वीकृति नलिई बजाउन नपाईने, उल्लङ्घन गरे कारबाहीको चेतावनी

Read Next

संरक्षण र रेखदेखको पर्खाइमा गण्डकीका चार विमानस्थल

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar