
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राजस्व संकलनमा देखिएको कमजोर प्रवृत्ति सुधार गर्दै चुहावट नियन्त्रणमा विशेष ध्यान दिन राजस्व प्रशासनका अधिकारीलाई निर्देशन दिएका छन्।
सोमबार अर्थ मन्त्रालयमा आयोजित वार्षिक अवधिको राजस्व समीक्षा बैठकलाई सम्बोधन गर्दै उनले नयाँ आर्थिक वर्षको राजस्व संकलन लक्ष्यलाई ‘मिसन मोड’मा अघि बढाउन निर्देशन दिएका हुन्।
राजस्व संकलनको लक्ष्य, समयसीमा र उद्देश्य स्पष्ट रहेकाले भन्सार तथा राजस्व प्रशासनका अधिकारीले केन्द्रित भएर काम गर्नुपर्नेमा उनले जोड दिए।
‘नेपालमा कर संकलनको विगतको तथ्याङ्क हेर्दा राजस्व संकलनको बिग्रिएको लय र चुहावटको गुनासो अत्यधिक पाइएको छ। अब यो सह्य हुँदैन,’ अर्थमन्त्री वाग्लेले भने, ‘राजस्व संकलनको लक्ष्य, डेटलाइन र उद्देश्यमा यहाँहरू स्पष्ट हुनुहुन्छ। अर्जुनदृष्टि लगाएर अघि बढ्नुहोस्।’
करदातामाथि अनावश्यक दबाब सिर्जना गरेर नभई उनीहरूलाई प्रोत्साहित गर्दै कर संकलन गर्नुपर्ने उनको भनाइ थियो। कर उठाउने लक्ष्य वैज्ञानिक र यथार्थपरक हुनुपर्नेमा जोड दिँदै उनले कर प्रशासकलाई परम्परागत सहजताबाट बाहिर निस्केर वास्तविकतामा आधारित भएर काम गर्न निर्देशन दिए।
‘कर प्रशासकहरू कम्फर्ट जोनबाट बाहिर निस्कनुहोस्, वैज्ञानिक र यथार्थतामा जोड दिनुहोस्,’ उनले भने, ‘राज्य बनाउन कर चाहिन्छ, कर उठाउन तपाईंहरूको साथ चाहिन्छ। इमान र मेहनत गरे प्रोत्साहन मिल्छ, गलत गरे दण्ड।’
सरकारको राजस्व लक्ष्य प्राप्तिका लागि भन्सार, राजस्व तथा आन्तरिक कर प्रशासनलाई आवश्यक स्रोतसाधन उपलब्ध गराउन सरकार तयार रहेको अर्थमन्त्री वाग्लेले बताए।
नागरिकलाई करको दायरामा ल्याउन सार्वजनिक जनचेतना अभिवृद्धि गर्न, सरकारले घोषणा गरेका कर छुट योजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न तथा करदाता प्रोत्साहन कार्यक्रमलाई प्रभावकारी बनाउन उनले निर्देशन दिए।
राजस्व चुहावट नियन्त्रणका लागि प्रविधिको प्रयोग बढाउनसमेत उनले भन्सार तथा आन्तरिक राजस्व विभागलाई निर्देशन दिएका छन्। भन्सार विभागलाई तीन महिनाभित्र देशका प्रमुख १४ भन्सार कार्यालयमा सवारीसाधन स्क्यानर मेसिन जडान गर्न उनले निर्देशन दिए।
‘१४ प्रमुख नाकामा सवारीसाधन स्क्यानर जडान गर्न अगाडि बढिहाल्नुहोस्। के-कस्तो सहयोग चाहिने हो, मन्त्रालयबाट भन्नुहोस्,’ उनले भने।
यसअघि सञ्चालनमा आएर बिग्रिएका स्क्यानर मेसिनलाई मर्मतसम्भार गरी पुनः सञ्चालनमा ल्याउनसमेत उनले निर्देशन दिए।
भन्सार तथा कर चुहावट हुने क्षेत्रको सूक्ष्म अनुगमन गर्न र व्यवसायीलाई तर्साएर नभई प्रणालीबारे जानकारी गराउँदै करको दायरामा ल्याउन उनले आग्रह गरे।
बैठकमा अर्थसचिव डा. घनश्याम उपाध्यायले कर तथा राजस्वका विभिन्न क्षेत्रमा देखिएको ह्रासको कारण पहिचान गर्न मातहतका अधिकारीलाई निर्देशन दिए। बाहिर देखिएको आर्थिक गतिविधि र कर तथा राजस्वको तथ्याङ्कबीच केही बेमेल देखिएको भन्दै उनले कमजोरी पहिचान गरी सुधार गर्न निर्देशन दिए।
कार्यक्रममा मन्त्रालयका राजस्व महाशाखा प्रमुख तथा सहसचिव उत्तरकुमार खत्रीले राजस्व संकलनको विगत, वर्तमान अवस्था तथा आगामी आर्थिक वर्षको लक्ष्य प्राप्तिका चुनौतीबारे प्रस्तुतीकरण गरेका थिए।
भन्सार विभागका महानिर्देशक यमलाल भूसालले गत वर्ष विभागले पाएको राजस्व लक्ष्य, प्राप्तिको अवस्था तथा आगामी वर्षको लक्ष्य प्राप्तिको योजनाबारे जानकारी गराएका थिए।
आन्तरिक राजस्व विभागका उपमहानिर्देशक जनकराज शर्माले सरकारले घोषणा गरेको राजस्व छुट तथा कर प्रोत्साहन कार्यक्रम कार्यान्वयनका लागि विभागले काम गरिरहेको बताए।
