Nepal Purbadhar

२ सातापछि जुम्लाको अवरुद्ध विद्युत सेवा सुचारु


जुम्ला । कर्णाली प्रदेशको जुम्ला जिल्लामा २ सातापछि विद्युत सेवा सुचारु भएको छ । गत असोज १९ गतेदेखि २५ गतेसम्म परेको भीषण वर्षाका कारण अवरुद्ध विद्युत सेवा सुचारु भएको हो ।

नेपाल विद्युत प्राधिकरण जुम्ला वितरण केन्द्रले वर्षापछिको बाढीले क्षतिग्रस्त विद्युतीय संरचनाको मर्मत सम्भार गरी विद्युत सेवा सुचारु गराएको हो । निरन्तरको प्रयासपछि विद्युत आपूर्ति सुचारु गर्न सफल भएको प्राधिकरण जुम्ला वितरण केन्द्र प्रमुख नरेश रावलले बताए ।

‘बाढीले विद्युतीय संरचनामा क्षति पुर्याएर ठाउँ–ठाउँमा विद्युतीय पोल ढलेपछि २ सातादेखि विद्युत आपूर्ति बन्द थियो,’उनले भने, ‘क्षतिग्रस्त पोलको पुर्ननिर्माण तथा मर्मत सम्भर गरेर विद्युत सेवा सुचारु गराउन सफल भएका छौं ।’ उनले अहिले विद्युत पहुँच पुगेको सबै क्षेत्रको आपूर्ति सुचारु भइसकेको जानकारी दिए ।

भारी वर्षापछिको बाढीले वितरण लाइनको संरचनामा क्षति पुर्याएपछि विद्युत आपूर्ति बन्द हुन पुगेको थियो । बाढीले जुम्ला र कालिकोटमा ९० वटा विद्युतीय पोल ढलेका थिए । विद्युतीय तारमा पनि क्षति पुगेको थियो । विद्युत सेवा अवरुद्ध हुँदा जुम्लाका करिब ३ हजार घरधुरीका ग्राहक २ सातादेखि अन्धकारमा बस्न बाध्य थिए ।

बाढी र पहिरोका कारण पहिराले कर्णाली राजमार्ग बन्द भएका कारण पनि प्रसारण तथा वितरण लाइनको मर्मत गरेर विद्युत आपूर्ति सुचारु गराउन समय लागेको प्राधिकरणले जनाएको छ । कर्णाली राजमार्गको दैलेख, कालिकोट हुँदै जुम्लासम्म राष्ट्रिय प्रसारण लाइन जोडिएको छ ।

बाढी पहिराले राष्ट्रिय प्रसारण लाइनमा क्षति पु¥याएपछि घुघुत्ती र जालपादेवी साना जलविद्युत आयोजनाको विद्युत सदरमुकाममा आपूर्ति व्यवस्थापन गरिएको थियो ।


Read Previous

तनहुँका विश्वकर्माले बनाए बिजुलीबाट चल्ने स्वचालित घन   

Read Next

अन्तरदेशीय विद्युत व्यापार र आन्तरिक खपत बढाउन विद्युतीय पूर्वाधार विस्तार गर्दै प्राधिकरण