Nepal Purbadhar

बिहिबार, बैशाख ६, २०८१
Thursday, April 18, 2024

बिहिबार, बैशाख ६, २०८१
Thursday, April 18, 2024

नुवाकोट सौर्य विद्युत आयोजनाबाट पूर्ण क्षमतामा विद्युत उत्पादन


काठमाडौं । नेपाल विद्युत प्राधिकरणले नुवाकोटमा निर्माण गरेको सौर्य विद्युत आयोजनाले पूर्ण क्षमतामा विद्युत उत्पादन सुरु गरेकाे छ । सौर्य विद्युत आयोजनाको सातौं ब्लकको ५.४८ मेगावाट पनि प्रसारण प्रणालीमा जोडिएपछि पूर्ण क्षमतामा विद्युत उत्पादन सुरु भएको हो ।

यो नै निर्माण सम्पन्न भई सञ्चालनमा आएको सबैभन्दा ठूलो सौर्य विद्युत आयोजना हो । अन्तिम ब्लक सम्पन्न भई सञ्चालनमा आएपछि अहिले २५ मेगावाट नै प्रसारण प्रणालीमा जोडिएको आयोजना प्रमुख विकास रघुबंसीले बताए ।

उनका अनुसार अहिले यो सौर्य विद्युत आयोजनाले परीक्षण उत्पादन गरिरहेको छ । ‘सातौं ब्लक सम्पन्न भएपछि करिब २ सातादेखि सौर्य विद्युत आयोजनाको परीक्षण भइरहेको छ,’ उनले भने, ‘अहिले औसत २० मेगावाट विद्युत प्रणालीमा गइरहेकाे छ ।’

उनले राम्ररी घाम लागेको समयमा यो सौर्य विद्युत आयोजनाले २५ मेगावाट विद्युत नै प्रणालीमा योगदान गरिरहेको बताए । बिहान र साँझकाे समयकाे उत्पादन कम छ ।

सौर्य विद्युत आयोजनाले उत्पादन गरेको विद्युत देवीघाट जलविद्युत केन्द्रको स्वीचयार्डमा लगेर जडान गरिएको छ । प्राधिकरणले लक्ष्यभन्दा ४ वर्ष ढिला गरी सौर्य विद्युत आयोजनाबाट पूर्ण क्षमतामा विद्युत उत्पादन सुरु गरेको हो ।

२०७५ बैशाख १४ गते सौर्य विद्युत आयोजनाको निर्माण सुरु हुँदा ६ महिनाभित्र सम्पन्न गर्ने तालिका थियो । आयोजनाका सबै ब्लक निर्माण सम्पन्न भई सञ्चालनमा आउन ५ वर्ष लाग्यो । सौर्य विद्युत आयोजनाका ब्लकहरू विदुर नगरपालिकाको ६ र १२ नम्बर वडामा निर्माण गरिएको छ ।

आयोजनाको ७ वटा  ब्लकमध्ये सम्पन्न भएका ६ वटाले पहिलेदेखि नै विद्युत उत्पादन गरिरहेका थिए । पहिलो ब्लकको ९.७६ मेगावाट विद्युत २०७७ माघ १८ गते प्रणालीमा आएको थियो । दोस्रो ब्लकको १.२८ मेगावाट २०७७ फागुन १६ मा प्रणालीमा जोडिएको थियो ।

तेस्रो ब्लकको २.१८ मेगावाट, चौंथो ब्लकको १.९६ मेगावाट, पाँचौं ब्लकको १.९६ मेगावाट र छैटौं ब्लकको २.४८ मेगावाट विद्युत क्रमशः २०७८ सालको कात्तिक, पुस र चैतमा प्रसारण प्रणालीमा जोडिएको रघुबंसीले बताए ।

ग्रिड सोलार तथा ऊर्जा दक्षता आयोजना अन्तर्गत विश्व बैंकको सहुलियतपूर्ण ऋण सहायतामा यो सौर्य विद्युत आयोजना निर्माण गरिएकाे हो । सौर्य विद्युत आयोजना सम्पन्न हुँदा प्रतिमेगावाट लागत १६ करोड रुपैयाँ पुगेकाे  रघुबंसीले बताए ।

लागतका हिसाबले यो सौर्य विद्युत आयोजना निजी क्षेत्रले निर्माण गरेका सौर्य विद्युत आयोजनाको तुलनामा महंगो देखिएको छ । निजी क्षेत्रले व्यापारिक विद्युत उत्पादन गर्ने उद्देश्यले निर्माण गरेका सौर्य विद्युत आयोजना प्रतिमेगावाट ८ करोड रुपैयाँ लागतमा पूरा भएका छन् ।

परामर्शदाताको समस्या, कोरोना महामारी, ठेक्का विवाद लगायत विविध कारणले सौर्य विद्युत आयोजना सम्पन्न हुन समय लागेको रघुबंसीले बताए । सुरुवातदेखि नै आयोजना विवादमा तानिँदा अलमल भएकाे प्राधिकरणले जनाएकाे छ  । जर्मन परामर्शदाताले पनि डिजाइन समिक्षा गर्न समय लगाएपछि सम्झौता तोडेर इनइए इन्जिनियरिङबाट काम लगाइएकाे थियाे ।

कोभिड–१९ महामारी तथा आयात गरिएका उपकरण केरुङमा ८ महिना रोकिँदा समेत त्यसको प्रभाव आयोजनामा परेको परेकाे थियाे । चीनको राइसेन इनर्जी कम्पनीले आयोजनाको काम हाे । सौर्य ऊर्जा प्रविधि जडान गर्नका लागि विभिन्न ७ स्थापनमा गरी ५ सय रोपनी जग्गा उपयोग भएको प्राधिकरणले जनाएको छ ।


Read Previous

१८८ मेगावाटको सुर्के दूधकोसी आयोजना निर्माण हुने

Read Next

त्रिशूली जलविद्युत कम्पनीको सेयरको बाँकी रकम असोज ४ गतेबाट संकलन गरिने

Leave a Reply

Your email address will not be published.