
काठमाडौं । अपर त्रिशूली-३ ‘ए’ जलविद्युत् केन्द्रको मर्मतका क्रममा अन्डरग्राउन्ड पावरहाउसमा फसेका कर्मचारीको उद्धारका लागि केबल टनेलको पुरिएको मुख खोल्ने काम तीव्र पारिएको छ।
नेपाली सेना र दक्ष जनशक्तिसहित आवश्यक उत्खनन उपकरण प्रयोग गरेर टनेलको पुरिएको भाग हटाउने काम भइरहेको जनाइएको छ।
यसैबीच, अपर त्रिशूली-३ ‘ए’ आयोजनातर्फ उद्धार सामग्रीसहित डेडिकेटेड हेलिकोप्टरले पनि काम सुरु गरेको बताइएको छ। टनेलभित्र रहेका अन्य व्यक्तिको उद्धारलाई प्रभावकारी बनाउन आवश्यक सामग्रीसहित उद्धार टोली परिचालन गरिएको छ।
प्रतिकूल मौसमका कारण उद्धार कार्यमा केही ढिलाइ भइरहेको भए पनि उद्धारलाई उच्च प्राथमिकतामा राखेर निरन्तर काम भइरहेको जनाइएको छ।
