Nepal Purbadhar

राष्ट्रिय परिचयपत्र बनाउन सिरहा प्रशासनमा सेवाग्राहीको भीड- तस्बीरहरू


सिरहा। राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला प्रशासन कार्यालय सिरहामा सेवाग्राहीको अत्यधिक भीड लाग्ने गरेको छ।

कार्यालयले दैनिक करिब २ सयदेखि साढे २ सय जनासम्मको राष्ट्रिय परिचयपत्रसम्बन्धी विवरण दर्ता गर्ने गरेको भए पनि निर्धारित संख्याभन्दा धेरै सेवाग्राही आउने गरेका छन्। सेवाग्राहीको चाप बढेपछि कार्यालय परिसरमा दिनभरजसो भीड हुने गरेको छ।

राष्ट्रिय परिचयपत्र बनाउन साना बच्चा च्यापेर बिहानैदेखि कार्यालय पुग्ने सेवाग्राहीसमेत दिनभर कुर्न बाध्य छन्। लामो समय लाइनमा बस्नुपर्ने र सेवा लिन धेरै समय लाग्ने भएपछि सेवाग्राहीले समस्या झेल्दै आएका छन्।

त्यसमाथि कार्यालयमा सर्भर सुस्त हुने तथा कहिलेकाहीँ सर्भर नै नचल्ने समस्या देखिँदा सेवाग्राही थप प्रभावित भएका छन्। फोटो खिचाउन र बायोमेट्रिक विवरण दिन पुगेका कतिपय सेवाग्राही सर्भरको समस्याका कारण काम पूरा नगरी फर्कन बाध्य हुने गरेका छन्।

सेवाग्राहीको संख्या र कार्यालयको दैनिक सेवा क्षमताबीच ठूलो अन्तर हुँदा सिरहा प्रशासनमा राष्ट्रिय परिचयपत्र बनाउन आउनेको भीड व्यवस्थापन चुनौतीपूर्ण बनेको छ।

तस्बिर : सुरेन्द्र कमाती/नेपाल फोटो लाइब्रेरी

Read Previous

एप्पलको पहिलो फोल्डेबल आईफोन ‘डुओ’ सार्वजनिक, नेपाली मूल्य करिब ३ लाखदेखि

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar