
बागलुङ। कालीगण्डकी नदीमा आएको बाढीले क्षति पुर्याएपछि बन्द भएको बागलुङ–पर्वत जोड्ने मालढुंगा पुल १५ दिनपछि सञ्चालनमा आएको छ। पुलको पर्वततर्फको पहुँचमार्ग निर्माण सम्पन्न भएपछि सोमबार बिहान १० बजेदेखि यातायात सञ्चालनमा आएको हो।
गत असोज ११ गते आएको बाढीले पुलको पर्वततर्फको पहुँचमार्ग बगाएपछि यातायात ठप्प भएको थियो। पुल बन्द हुँदा बागलुङसहित रोल्पा, रुकुम, जाजरकोट, डोल्पा र सल्यानलगायत पश्चिम नेपालका विभिन्न जिल्लाको आवागमन प्रभावित भएको थियो।

सडक डिभिजन कार्यालय पोखराको प्राविधिक टोली र दर्जनौँ कामदारले चौबिसै घण्टा काम गरेपछि पहुँचमार्ग निर्माण गरी पुल सञ्चालनमा ल्याइएको हो। निर्माण कार्यमा नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीसमेत परिचालन भएका थिए।
दसैंको मुखमा मुख्य सडक पुल बन्द हुँदा यात्रु तथा स्थानीयवासीले सास्ती खेप्नुपरेको थियो। यातायात अवरुद्ध हुँदा अत्यावश्यक सामग्रीको ढुवानी प्रभावित हुनुका साथै बागलुङ बजारमा वस्तुको मूल्य बढेको स्थानीयको भनाइ छ। बाहिरी जिल्लाबाट पर्यटक तथा ग्राहक आउन नसक्दा होटल, व्यापार र पर्यटन व्यवसायसमेत प्रभावित भएका थिए।

मालढुंगा पुल सञ्चालनमा नआउँदा बागलुङ कालिका मन्दिर, पञ्चकोट र ढोरपाटन जाने पर्यटक तथा भक्तजनको आवागमनसमेत घटेको थियो। बागलुङ कालिका मन्दिरमा घटस्थापनाका दिन विगतका वर्षमा १० हजारभन्दा बढी भक्तजन आउने गरेकामा यस वर्ष दुई हजारसमेत पुग्न मुस्किल परेको मन्दिर व्यवस्थापन समितिका लेखापाल दुर्गा खत्रीले बताए।

होटल व्यवसायी संघ गण्डकी प्रदेशका अध्यक्ष अर्जुन चोखालले बाढीपहिरो र पुल अवरुद्ध हुँदा बागलुङका होटल व्यवसाय प्रभावित भएको बताए। पुल सञ्चालनमा आएसँगै स्वदेशी तथा विदेशी पर्यटकको आगमन बढ्ने अपेक्षा गरिएको उनको भनाइ छ।

मालढुंगा पुल राष्ट्रिय गौरवको मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोरको महत्त्वपूर्ण सम्पर्क बिन्दु हो। यस पुल हुँदै दुई राजमार्गमा यात्रा गर्ने सवारीसाधन सञ्चालनमा सहजता आउने र पश्चिम नेपालका विभिन्न जिल्लाको आवागमन तथा व्यापार व्यवसाय क्रमशः सामान्य अवस्थामा फर्किने अपेक्षा गरिएको छ।


