
काठमाडौं। तिहार र छठ पर्वको लगातार सार्वजनिक बिदापछि काठमाडौंका प्रमुख सरकारी अस्पतालमा बिरामीको चाप बढेको छ। मंगलबारदेखि अस्पताल नियमित सञ्चालनमा आएसँगै वीर अस्पताल, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका लागि आउने बिरामीको भीड लागेको हो।
लामो बिदाका कारण रोकिएका स्वास्थ्य परीक्षण तथा उपचार सेवा लिन एकैपटक धेरै बिरामी अस्पताल पुग्दा ओपीडी सेवामा बढी चाप देखिएको छ।
बिरामीको संख्या बढेसँगै टिकट काट्न, शुल्क भुक्तानी गर्न, चिकित्सकसँग जाँच गराउन र प्रयोगशालाको रिपोर्ट लिन सर्वसाधारणले घण्टौँ लाइनमा बस्नुपर्ने अवस्था छ।
अस्पतालको सेवा लिन लामो समय कुर्नुपर्दा बिरामी तथा कुरुवाले सास्ती भोग्नुपरेको छ। टिकट, भुक्तानी र रिपोर्ट वितरण प्रक्रियामा देखिएको अव्यवस्थाले सेवाग्राहीको समस्या थपिएको छ।
बढ्दो बिरामी चापलाई व्यवस्थित गर्न अस्पतालमा जनशक्ति थप गर्नुका साथै टिकट वितरण, भुक्तानी र रिपोर्ट उपलब्ध गराउने प्रक्रियालाई सहज बनाउनुपर्ने आवश्यकता देखिएको छ।

