Nepal Purbadhar

नेपालको क्रेडिट रेटिङमा सुधार, ३.६६ पुग्यो


काठमाडौं। नेपालको सार्वभौम साख मूल्याङ्कन (सोभरेन क्रेडिट रेटिङ) अङ्क गत वर्षको तुलनामा बढेर ३.६६ पुगेको छ। अन्तर्राष्ट्रिय रेटिङ संस्था फिचको मूल्याङ्कनमा नेपालको अङ्क ०.१९ ले सुधार भएको हो।

अर्थ मन्त्रालयका अनुसार फिचको सोभरेन रेटिङ मोडल (एसआरएम) मा नेपालको अङ्क गत वर्ष ३.४७ रहेकोमा यस वर्ष ३.६६ पुगेको हो। फिचको मूल्याङ्कन प्रणालीमा ‘बीबी–’ रेटिङ प्राप्त गर्न न्यूनतम ३.५ अङ्क आवश्यक पर्छ।

गत वर्ष नेपालको अङ्क न्यूनतम सीमाभन्दा कम भए पनि गुणात्मक मूल्याङ्कनका आधारमा एक तह थप गरी ‘बीबी–’ रेटिङ दिइएको थियो। यस वर्ष भने कुनै अतिरिक्त सहुलियतबिना आफ्नै मूल्याङ्कन अङ्कका आधारमा नेपालले उक्त रेटिङ प्राप्त गरेको अर्थ मन्त्रालयले जनाएको छ।

फिचले नेपालको सार्वभौम क्रेडिट रेटिङ लगातार तेस्रो वर्ष ‘बीबी-’ मै कायम राखेको छ।

रसुवा, बूढीगण्डकीलगायत क्षेत्रमा गएको विनाशकारी बाढीबाट उत्पन्न प्रतिकूल परिस्थितिका बाबजुद रेटिङ अङ्क बढ्नु महत्वपूर्ण उपलब्धि भएको मन्त्रालयको भनाइ छ। सरकारका सुशासनसम्बन्धी कदम र आर्थिक सुधारका कार्यक्रमले रेटिङमा सकारात्मक प्रभाव पारेको मन्त्रालयले जनाएको छ।सार्वभौम क्रेडिट रेटिङले मुलुकको आर्थिक अवस्था, वित्तीय स्थायित्व र ऋण तिर्न सक्ने क्षमताको मूल्याङ्कन गर्छ। यसले अन्तर्राष्ट्रिय वित्तीय बजारमा देशको विश्वसनीयता, वैदेशिक लगानीको वातावरण र बाह्य ऋण प्राप्त गर्ने क्षमताको आकलनमा महत्वपूर्ण भूमिका खेल्छ।


Read Previous

पुससम्म कर विवादबाट मुक्त हुन व्यवसायीलाई अर्थमन्त्रीको आग्रह, ‘कर सुधार २.०’ ल्याइने’

Read Next

तिहार र छठको बिदापछि सरकारी अस्पतालमा बिरामीको चाप, उपचारका लागि घण्टौँ लाइन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar