
काठमाडौं। धादिङको गलौँदी क्षेत्रमा सडक मर्मत गर्नुपर्ने भएपछि पृथ्वी राजमार्ग आज राति ११ बजेदेखि भोलि बिहान ५ बजेसम्म बन्द हुने भएको छ। सडक मर्मतका लागि ६ घण्टा सवारी आवागमन रोक्न लागिएको हो।
धादिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय (गौतम)ले सूचना जारी गर्दै गजुरी गाउँपालिका–५ स्थित गलौँदीमा त्रिशूली नदीको कटानका कारण सडक भासिएकाले मर्मतसम्भार गर्न राजमार्ग बन्द गरिने जानकारी दिएकी छन्।
गत असोज २३ गते सडक भासिएपछि पृथ्वी राजमार्ग अवरुद्ध भएको थियो। असोज २४ गते दिनभरको प्रयासपछि सडक सञ्चालनमा ल्याइए पनि थप मर्मत गर्नुपर्ने भएपछि पुनः रातिको समयमा आवागमन रोक्न लागिएको हो।
दशैंको समयमा मुख्य राजमार्ग बन्द हुँदा यात्रु तथा यातायात व्यवसायीलाई थप समस्या हुने देखिएको छ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष पुण्यप्रसाद (सरोज) सिटौलाले दशैंका लागि हजारौँ यात्रुले अग्रिम टिकट बुकिङ गरिसकेको अवस्थामा राजमार्ग बन्द हुँदा आवागमनमा चुनौती थपिने बताए।
“दशैंको मुखमा हजारौँ यात्रुले अग्रिम टिकट बुकिङ गरेका छन्। यस्तो अवस्थामा राजमार्ग बन्द हुँदा यातायात व्यवसायीसँगै आम यात्रुलाई समस्या परेको छ,” उनले भने।
यसैबीच, दशैं मनाउन असोज १७ देखि २५ गतेसम्म काठमाडौंको नयाँ बसपार्कबाट २ लाख ७ हजार २५१ यात्रु बाहिरिएका छन्। नयाँ बसपार्क सञ्चालन गर्ने लोत्से बहुउद्देश्यीय प्रालिका महाप्रबन्धक पङ्कज मल्लले उक्त अवधिमा सो सङ्ख्यामा यात्रु बाहिरिएको जानकारी दिए।
आज राति पृथ्वी राजमार्ग हुँदै यात्रा गर्ने यात्रुले सडक बन्द हुने समयलाई ध्यानमा राखेर आफ्नो यात्रा योजना बनाउनुपर्नेछ।

