Nepal Purbadhar

पुससम्म कर विवादबाट मुक्त हुन व्यवसायीलाई अर्थमन्त्रीको आग्रह, ‘कर सुधार २.०’ ल्याइने’


काठमाडौं। अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेटमार्फत भन्सारदेखि अन्तःशुल्कसम्मका क्षेत्रमा नीतिगत सुधार गर्दै ‘कर सुधार २.०’ ल्याउने घोषणा गरेका छन्।

राष्ट्रिय कर दिवस २०८३ का अवसरमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले चालु वर्ष करका दर र दायरामा गरिएको सुधारलाई आगामी वर्ष थप निरन्तरता दिइने बताए।

उनले कर विवाद समाधानका लागि व्यवसायीलाई पुस मसान्तसम्म विशेष अवसर दिइएको जानकारी दिँदै १ प्रतिशत रकम तिरेर कर विवादबाट मुक्त हुन सकिने व्यवस्था उपयोग गर्न आग्रह गरे।

सरकारले चालु आर्थिक वर्षमा गत वर्षको तुलनामा २७ प्रतिशत बढी राजस्व संकलन गर्ने लक्ष्य राखेको पनि उनले बताए। यसका लागि प्रभावकारी कर प्रशासन र स्वेच्छिक कर अनुपालन आवश्यक रहेको उनको भनाइ थियो।

अर्थमन्त्री वाग्लेले बैंकिङ प्रणालीमा पर्याप्त तरलता, सहज विदेशी विनिमय सञ्चिति, घटेका करका दर र स्थिर सरकारका कारण लगानीको वातावरण अनुकूल बनेको दाबी गर्दै निजी क्षेत्रलाई लगानी विस्तार गर्न आग्रह गरे।

इमान्दार र मिहिनेती व्यवसायीलाई सरकारले दुःख नदिने स्पष्ट पार्दै उनले आर्थिक वृद्धि हासिल गर्न सरकार, कर प्रशासन र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताए।


Read Previous

जब्दीघाटमा ६७ करोड लागतमा नयाँ पुल बन्ने, ४२ महिनाभित्र निर्माण सक्ने लक्ष्य

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar