
बर्दिया। बर्दियाको गुलरिया नगरपालिका-४ बगही र बारबर्दिया नगरपालिका-११ जब्दी जोड्ने बबई नदीको जब्दीघाटमा नयाँ पुल निर्माण हुने भएको छ। पुल निर्माणका लागि सडक डिभिजन कार्यालय नेपालगञ्ज र निर्माण कम्पनी एमआर एन्ड ग्रुपबीच ठेक्का सम्झौता भएको छ।
कार्यालयका प्रमुख तथा सिनियर डिभिजनल इन्जिनियर नरेन्द्रप्रसाद भट्टका अनुसार गत कात्तिक १६ गते निर्माण सम्झौता भएको हो। सम्झौताअनुसार निर्माण कम्पनीले ४२ महिनाभित्र पुल निर्माण सम्पन्न गर्नुपर्नेछ।
कुल ६७ करोड ४५ लाख ६९ हजार १५० रुपैयाँ लागतमा निर्माण हुने पुल दुई लेनको हुनेछ। पुल ४२० मिटर लामो र ११ मिटर चौडा रहनेछ। निर्माण कम्पनीले सम्झौता भएको नौ महिनाभित्र माटो परीक्षण प्रतिवेदन तयार गरी पुलको डिजाइन स्वीकृत गराउनुपर्नेछ।
सडक डिभिजन कार्यालय नेपालगञ्जले विसं २०८३ असारमा पुल निर्माणका लागि ठेक्का आह्वान गरेको थियो। ठेक्का प्रक्रियामा चार निर्माण कम्पनीले प्रतिस्पर्धा गरेकामा प्राविधिक तथा आर्थिक प्रस्तावको मूल्याङ्कनपछि एमआर एन्ड ग्रुप छनोट भएको हो।
बर्दिया क्षेत्र नं १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य ठाकुरसिंह थारुले पुल निर्माणको काम यथाशीघ्र सुरू गरी निर्धारित समयमै सम्पन्न गर्नुपर्ने बताएका छन्। उनका अनुसार यो पुल पूर्व-पश्चिम राजमार्गको रम्मापुर चोकबाट जयनगर बजार हुँदै जिल्ला सदरमुकाम गुलरिया र नेपाल-भारत सीमानाका रजनवास जोड्ने महत्वपूर्ण सडकखण्डमा पर्छ।
पुल नहुँदा पूर्व-पश्चिम राजमार्गबाट जयनगर हुँदै गुलरिया तथा भारत आवतजावत गर्ने स्थानीयवासी र यात्रुले लामो समयदेखि समस्या भोग्दै आएका छन्।
जब्दीघाटमा पप्पु कन्स्ट्रक्सनले निर्माण गरेको पुरानो पुल हस्तान्तरण नहुँदै विसं २०७२ को बाढीले भासिएको थियो। पुल भासिएपछि ठूला सवारीसाधनको आवागमन बन्द भए पनि पैदलयात्री, मोटरसाइकल र अटोरिक्साजस्ता साना सवारीसाधन सञ्चालन हुँदै आएका थिए। तर, विसं २०७९ को बाढीले पुलका चार मुख्य पिलर जोड्ने तीन ओटा स्ल्याब बगाएपछि आवागमन पूर्ण रूपमा बन्द भएको इन्जिनियर भट्टले बताए।
पुलका स्ल्याब बगाएपछि स्थानीयवासीले शुल्क तिरेर डुङ्गा वा काठे पुलबाट नदी वारपार गर्नुपर्ने बाध्यता रहेको बारबर्दिया नगरपालिका-११ फच्कहवाकी मेनका चौधरीले बताइन्। नयाँ पुल निर्माणको ठेक्का सम्झौता भएपछि वर्षौंदेखिको समस्या समाधान हुने आशा पलाएको उनको भनाइ छ।
बर्खायाममा बबई नदीमा बाढी आउँदा नदी वारपार गर्न थप कठिन हुने गरेको छ। पुल नहुँदा गुलरिया नगरपालिका-४ का बासिन्दा सदरमुकाम पुग्न करिब १० किलोमिटर घुमेर जानुपर्ने वा जोखिम मोलेर डुङ्गाबाट नदी पार गर्नुपर्ने बाध्यता छ।
नदी वारपार गर्न शुल्कसमेत तिर्नुपर्ने भएकाले स्थानीयवासीलाई थप आर्थिक भार परेको स्थानीय राममिलन चौधरीले बताए। नयाँ पुल निर्माण सम्पन्न भएपछि गुलरिया र बारबर्दियाका बासिन्दाको आवागमन सहज हुनुका साथै पूर्व-पश्चिम राजमार्ग, सदरमुकाम गुलरिया र सीमावर्ती क्षेत्रबीचको सम्पर्क थप प्रभावकारी हुने अपेक्षा गरिएको छ।

