Nepal Purbadhar

स्थानीय तहमा ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र सञ्चालन गर्न नयाँ कार्यविधि तयार


स्वास्थ्य परीक्षणदेखि अन्तरपुस्ता ज्ञान हस्तान्तरणसम्मका कार्यक्रम सञ्चालन गरिने

काठमाडौं । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले स्थानीय तहमा ज्येष्ठ नागरिकको हेरचाह, स्वास्थ्य, सामाजिक सहभागिता र सम्मानजनक जीवनलाई प्रवर्द्धन गर्ने उद्देश्यले ‘स्थानीय तहमा ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र सञ्चालन/स्थापना सम्बन्धी कार्यविधि, २०८३’ तयार गरेको छ।

कार्यविधिअनुसार स्थानीय तहमा सञ्चालन हुने ज्येष्ठ नागरिक दिवा सेवा केन्द्रले घरमा एक्लोपन महसुस गरिरहेका वा नियमित हेरचाह आवश्यक पर्ने ज्येष्ठ नागरिकलाई दिनको समयमा भेटघाट, सामाजिक घुलमिल, मनोरञ्जन, स्वास्थ्य सेवा तथा परामर्शको अवसर उपलब्ध गराउनेछ।

केन्द्रलाई कम्तीमा हप्ताको पाँच दिन सञ्चालन गर्नुपर्ने व्यवस्था गरिएको छ। ज्येष्ठ नागरिकको सहज आवतजावत र सुरक्षित बसाइलाई ध्यान दिँदै केन्द्रमा शौचालय, भान्सा, उक्लिन-ओर्लिन सहज हुने संरचना, आवतजावत गर्ने स्थानमा समाउने रेलिङलगायत आवश्यक भौतिक संरचना अनिवार्य रूपमा व्यवस्थित गर्नुपर्नेछ।

नियमित स्वास्थ्य परीक्षणको व्यवस्था

ज्येष्ठ नागरिकको स्वास्थ्य सुरक्षालाई कार्यविधिमा विशेष प्राथमिकता दिइएको छ। केन्द्रमा आउने ज्येष्ठ नागरिकको कम्तीमा महिनामा एकपटक सरकारी, निजी वा सामुदायिक अस्पतालका चिकित्सकबाट स्वास्थ्य परीक्षण गराउनुपर्ने व्यवस्था गरिएको छ।

स्वास्थ्य परीक्षणका क्रममा आवश्यक देखिएमा औषधि तथा स्वास्थ्य सामग्री उपलब्ध गराउन सहयोग गर्नुपर्नेछ। साथै ज्येष्ठ नागरिकको आवश्यकता र अवस्थाअनुसार स्वास्थ्यलगायत अन्य विषयमा परामर्श सेवा उपलब्ध गराउनुपर्ने व्यवस्था गरिएको छ।

केन्द्रमा सेवा लिन आउने ज्येष्ठ नागरिकका लागि स्वच्छ खाजा तथा तातो-चिसो पिउने पानीको व्यवस्था गर्नुपर्नेछ।

ज्येष्ठ नागरिकको रुचि र इच्छाअनुसार कम्तीमा तीन महिनामा एकपटक धार्मिक तथा सांस्कृतिक स्थल, पार्क, वनभोज स्थल वा अन्य मनोरञ्जनात्मक स्थानमा भ्रमण तथा सहभागिताको अवसरसमेत उपलब्ध गराउन सकिने व्यवस्था गरिएको छ।

ज्येष्ठ नागरिकको ज्ञान नयाँ पुस्तासम्म पुर्‍याइने

कार्यविधिले ज्येष्ठ नागरिकसँग रहेको ज्ञान, सीप र जीवनअनुभवलाई नयाँ पुस्तासँग हस्तान्तरण गर्ने विषयलाई समेत प्राथमिकतामा राखेको छ।

यसका लागि प्रवचन, अन्तरक्रिया, अनुभव आदानप्रदानलगायत कार्यक्रम सञ्चालन गरी त्यसको अभिलेख राख्नुपर्ने व्यवस्था गरिएको छ। ज्येष्ठ नागरिकको लामो जीवनअनुभव र सीपलाई समाजको उपयोगी स्रोतका रूपमा प्रयोग गर्दै पुस्ताबीचको दूरी घटाउने उद्देश्य यस व्यवस्थामा राखिएको छ।

त्यस्तै, ज्येष्ठ नागरिकले आफूसँग रहेको सीप प्रयोग गरी कुनै सामग्री उत्पादन, निर्माण वा बिक्री वितरण गर्न चाहेमा आवश्यक सहजीकरण गर्नुपर्नेछ। यसबाट सक्रिय बुढ्यौलीसँगै ज्येष्ठ नागरिकको सीप र उद्यमशीलतालाई प्रोत्साहन गर्ने लक्ष्य राखिएको छ।

ज्येष्ठ नागरिकको इच्छालाई प्राथमिकता

कार्यविधिले ज्येष्ठ नागरिकलाई उनीहरूको इच्छाविपरीत कुनै पनि कार्यक्रममा सहभागी गराउन नपाइने स्पष्ट व्यवस्था गरेको छ।

दिवा सेवा केन्द्र सञ्चालनका क्रममा ज्येष्ठ नागरिकको गरिमा, सुरक्षा, स्वेच्छा र व्यक्तिगत आवश्यकतालाई प्राथमिकतामा राख्नुपर्नेछ। केन्द्रले ज्येष्ठ नागरिकलाई केवल सेवा लिने व्यक्तिका रूपमा नभई परिवार र समाजको महत्वपूर्ण सदस्यका रूपमा सम्मानजनक वातावरण उपलब्ध गराउनुपर्ने व्यवस्था गरिएको छ।

संघीय अनुदानबाट सञ्चालन

ज्येष्ठ नागरिक दिवा सेवा केन्द्रको कार्यक्रम संघीय सरकारले स्थानीय तहलाई उपलब्ध गराउने सशर्त अनुदानमार्फत सञ्चालन गरिनेछ।

सम्बन्धित आर्थिक वर्षमा प्राप्त अनुदान खर्च हुन नसके बाँकी रकम संघीय सञ्चित कोषमा फिर्ता गर्नुपर्ने व्यवस्था गरिएको छ।

कार्यक्रमको अनुगमन तथा मूल्याङ्कन संघीय, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायले गर्न सक्नेछन्।

स्थानीय तहले आर्थिक वर्ष समाप्त भएको १५ दिनभित्र कार्यक्रमको भौतिक तथा वित्तीय प्रगति, सेवा लिएका ज्येष्ठ नागरिकको विवरण, मुख्य उपलब्धि, समस्या, चुनौती र आगामी सुझाव समेटिएको प्रतिवेदन मन्त्रालयमा पठाउनुपर्नेछ।

दिवा सेवा केन्द्रलाई बहुआयामिक बनाउने लक्ष्य

नयाँ कार्यविधिले स्थानीय तहमा स्थापना हुने ज्येष्ठ नागरिक दिवा सेवा केन्द्रलाई केवल ज्येष्ठ नागरिक बस्ने वा भेटघाट गर्ने स्थानका रूपमा सीमित नराखी स्वास्थ्य, सामाजिक सहभागिता, मनोरञ्जन, परामर्श, ज्ञान हस्तान्तरण र सीप विकाससँग जोड्ने लक्ष्य राखेको छ।

सरकारको यो व्यवस्थाले परिवारबाट टाढा रहेका, एक्लोपन महसुस गरिरहेका वा नियमित सामाजिक सहभागिताको अवसरबाट वञ्चित ज्येष्ठ नागरिकलाई सुरक्षित र सम्मानजनक वातावरण उपलब्ध गराउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।


Read Previous

आरसीओडीमा मन्त्रालयको सक्रियताले निजी क्षेत्रमा आश, घोषणाभन्दा कार्यान्वयनमै मुख्य चुनौती

Read Next

शहरको सौन्दर्यकरणका नाममा हुर्किसकेका रूख काटेर राखिएका झण्डा फेर्नै वार्षिक लाखौँ खर्च

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar