
काठमाडौं । हिन्दु धर्मावलम्बीको दोस्रो ठूलो चाड तिहारअन्तर्गत आज लक्ष्मी पूजा विभिन्न धार्मिक विधिअनुसार मनाइएको छ। लक्ष्मी पूजाको अवसरमा काठमाडौं उपत्यका झिलिमिली बनेको छ।
धनधान्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गर्दै घर, पसल तथा व्यापारिक प्रतिष्ठानहरूमा दीप प्रज्वलन र आकर्षक बत्तीहरू बालिएका छन्। घरका मूलढोका, झ्याल तथा छतमा रंगीचंगी बत्तीले सजावट गरिएपछि उपत्यकाका विभिन्न क्षेत्र झिलिमिली देखिएका छन्।
लक्ष्मीको स्वागतका लागि घरआँगनमा दीपावली गर्नुका साथै रंगोली बनाउने, लक्ष्मीको पाइला अंकित गर्ने र घरलाई फूलमालाले सजाउने गरिएको छ। साँझ परेसँगै उपत्यकाका सडक, बजार र बस्तीहरूमा बालिएका बत्तीले तिहारको रौनक थपिएको छ।

