
बागलुङ। शहरको सौन्दर्यकरणका नाममा हुर्किसकेका रूख काटेर बनाइएको बागलुङ बजारस्थित झण्डा पार्कमा हरेक वर्ष झण्डा फेर्न नगरपालिकाले करिब चार लाख रुपैयाँ खर्च गर्दै आएको छ।
तत्कालीन वीरेन्द्र-ऐश्वर्य पार्कलाई बागलुङ नगरपालिकाले तीन वर्षअघि झण्डा पार्कका रूपमा विकास गरेको थियो। पार्कमा रहेका रूख र केहि रूखका हाँगाबिँगा काटेर कंक्रिटमा फलामे डण्डी गाड्दै विभिन्न देशका झण्डा राखिएपछि त्यसबेला नगरपालिकाको निर्णयको आलोचनासमेत भएको थियो।

शहरलाई हरियाली र वातावरणमैत्री बनाउनेभन्दा भएका रूखको संरचना नै परिवर्तन गरेर सौन्दर्यकरण गरिएको भन्दै स्थानीयस्तरबाट विरोध भएको थियो। तर अहिले त्यही पार्कमा राखिएका झण्डा फेर्न नगरपालिकाले वर्षैपिच्छे ठूलो रकम खर्च गरिरहेको छ।
पार्कमा १९५ देशका झण्डा राखिएका छन्। वर्षा र टन्टलापुर घामका कारण झण्डाको रङ उडेपछि नगरपालिकाले यस वर्ष पनि नयाँ झण्डा राख्न थालेको हो।
नगरपालिकाले एउटा झण्डा फेर्न एक हजार आठ सय रुपैयाँ भ्याटबाहेक खर्च गर्दै आएको जनाएको छ। १९५ ओटा झण्डा फेर्दा एकपटकमा करिब चार लाख रुपैयाँ खर्च हुन्छ। नगरपालिकाले अहिलेसम्म तीनपटक झण्डा फेरिसकेको छ।

यस हिसाबले तीन वर्षको अवधिमा झण्डा फेर्न मात्रै नगरपालिकाले करिब १२ लाख रुपैयाँ खर्च गरिसकेको देखिन्छ। झण्डा हरेक वर्ष फेर्नुपर्ने अवस्था किन आइरहेको छ र त्यसलाई टिकाउ बनाउने विकल्प किन खोजिएको छैन भन्ने प्रश्नसमेत उठेको छ।
रूख काटेर बनाइएको संरचनामा निरन्तर खर्च
झण्डा पार्क निर्माणका क्रममा रूख काटिएको विषयमा त्यतिबेला स्थानीयस्तरमा प्रश्न उठेको थियो। भएका रूख संरक्षण गर्दै शहरको हरियाली बढाउनुपर्ने अवस्थामा सौन्दर्यकरणका नाममा रूख मास्नु उचित नभएको भन्दै विरोध भएको थियो।
तर तीन वर्ष नबित्दै पार्कका झण्डा फेर्न मात्र लाखौँ रुपैयाँ खर्च हुन थालेपछि त्यसबेला उठेका प्रश्न फेरि चर्चामा आएका छन्।
सार्वजनिक स्रोत खर्च गरेर निर्माण गरिएका संरचनामा दीर्घकालीन उपयोगिता, वातावरणीय प्रभाव र मितव्ययितालाई प्राथमिकता दिनुपर्ने भए पनि छोटो समयमै बिग्रने झण्डामा वर्षेनि ठूलो रकम खर्च भइरहेको छ।

सौन्दर्यकरणको नाममा खर्च कति उचित?
झण्डा पार्कले बागलुङ शहरको आकर्षण बढाउने उद्देश्य राखेको भए पनि यसको नियमित व्यवस्थापनमा लाग्ने खर्चलाई बेवास्ता गर्न सकिँदैन।
एकातर्फ शहरको सौन्दर्यकरणका नाममा हुर्किसकेका रूखका हाँगाबिँगा काटेर संरचना निर्माण गरिएको छ भने अर्कोतर्फ त्यही संरचनामा राखिएका झण्डा जोगाउन हरेक वर्ष लाखौँ रुपैयाँ खर्च भइरहेको छ।
नगरपालिकाले झण्डाको गुणस्तर, टिकाउपन, खरिद मूल्य र हरेक वर्ष फेर्नुपर्ने कारणबारे स्पष्ट जानकारी सार्वजनिक गर्नुपर्ने देखिन्छ। साथै कम खर्चमा लामो समय टिक्ने झण्डा प्रयोग गर्न सकिने विकल्पबारे समेत अध्ययन आवश्यक देखिन्छ।
सार्वजनिक रकमबाट हुने खर्चमा क्षणिक आकर्षणभन्दा वातावरण संरक्षण, दीर्घकालीन उपयोगिता र आर्थिक मितव्ययितालाई प्राथमिकता दिने कि हरेक वर्ष उही काममा बजेट खर्च गरिरहने भन्ने प्रश्न अहिले झण्डा पार्कले नै उठाएको छ।

📸 तस्बिर : डम्मर बुढामगर/नेपाल फोटो लाइब्रेरी

