
काठमाडौं। नेपाल विद्युत् प्राधिकरणले रुकुम पश्चिमस्थित स्यार्पु हाइड्रोपावर आयोजनाबाट व्यावसायिक विद्युत् उत्पादन गर्न स्वीकृति दिएको छ । स्थानीय तहहरूको संयुक्त लगानीमा निर्माण भएको आयोजना व्यावसायिक उत्पादनमा प्रवेश गरेसँगै स्थानीय सरकारको आम्दानीको नयाँ स्रोत बन्ने भएको छ ।
स्थानीय सरकारहरूको संयुक्त पहलमा स्यार्पु पावर कम्पनी लिमिटेडमार्फत आयोजना निर्माण गरिएको हो । स्थानीय तहलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउने तथा रुकुम पश्चिमका नागरिकको आम्दानी र रोजगारी बढाउने उद्देश्यले आयोजना अघि बढाइएको थियो ।

२०७५ वैशाख २७ गतेको मन्त्रिपरिषद् निर्णयअनुसार २०७५ भदौ ५ गते स्यार्पु पावर कम्पनी लिमिटेड दर्ता गरी आयोजना कार्यान्वयन सुरू गरिएको थियो ।
आयोजनामा चौरजहारी नगरपालिकाको ६ करोड २९ लाख, सानीभेरी गाउँपालिकाको ४ करोड ९६ लाख, बाँफिकोट गाउँपालिकाको २ करोड ७९ लाख, आठबिसकोट नगरपालिकाको २ करोड ५ लाख र त्रिवेणी गाउँपालिकाको १ करोड ८२ लाख रुपैयाँ लगानी रहेको छ ।
त्यस्तै, मुसिकोट नगरपालिकाको ५० लाख, जिल्ला समन्वय समिति रुकुम पश्चिमको ६१ लाख ७२ हजार र अर्थ मन्त्रालयको २२ लाख रुपैयाँ शेयर लगानी रहेको छ ।

आयोजनाबाट व्यावसायिक उत्पादन सुरू भएपछि वार्षिक ८ करोडदेखि १२ करोड रुपैयाँसम्म आम्दानी हुने अनुमान गरिएको छ । उक्त आम्दानी शेयर लगानीको अनुपातअनुसार स्थानीय सरकारको आम्दानीमा समावेश हुनेछ ।
आयोजना सम्पन्न गर्न तत्कालीन नेता जनार्दन शर्मा, स्थानीय तहका पूर्व तथा वर्तमान जनप्रतिनिधि, कर्णाली प्रदेशका पूर्व तथा वर्तमान मन्त्री तथा प्रदेशसभा सदस्य, कम्पनीका सञ्चालक समिति, प्रमुख कार्यकारी अधिकृत इन्जिनियर प्रदीप ओली र कर्मचारीको महत्वपूर्ण भूमिका रहेको आयोजनासम्बन्धी विवरणमा उल्लेख छ ।
स्थानीय सरकारहरूको संयुक्त लगानीमा निर्माण भएको स्यार्पु हाइड्रोपावरलाई स्थानीय तहको आर्थिक आत्मनिर्भरताको नमुना आयोजनाका रूपमा प्रस्तुत गरिएको छ ।


