Nepal Purbadhar

लक्ष्मीपूजाको साँझ १८ सय १३ मेगावाट विद्युत् खपत, ५८७ मेगावाट भारत र बंगलादेश निर्यात


काठमाडौं । प्राकृतिक विपद्का कारण विद्युत् उत्पादन तथा प्रसारण प्रणालीमा ठूलो क्षति पुगे पनि नेपाल विद्युत् प्राधिकरणले यस वर्षको लक्ष्मीपूजामा विद्युत्को उच्चतम माग सफलतापूर्वक व्यवस्थापन गरेको छ। आन्तरिक माग पूरा गरेर प्राधिकरणले भारततर्फ ५८७.३० मेगावाट विद्युत्समेत निर्यात गरेको छ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार आइतबार साँझ ६ बजेर १५ मिनेटमा राष्ट्रिय विद्युत् प्रणालीको उच्चतम माग १ हजार ८१३ मेगावाट पुगेको थियो। उक्त समयमा कुल प्रणालीको पिक भार २ हजार ४००.३० मेगावाट रहेकामा ५८७.३० मेगावाट विद्युत् भारत निर्यात गरिएको थियो। यस अवधिमा विद्युत् आपूर्ति अवरोध शून्य मेगावाट रहेको प्राधिकरणले जनाएको छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले प्राकृतिक विपद्का कारण विद्युत् प्रणालीमा ठूलो क्षति पुगेको अवस्थामा पनि उच्चतम माग व्यवस्थापन गर्न सफल भएकोमा प्राधिकरणका कर्मचारी, व्यवस्थापन र उपभोक्तालाई धन्यवाद दिएका छन्।

मन्त्री श्रेष्ठ आइतबार साँझ ऊर्जा सचिव, प्राधिकरण सञ्चालक समितिका सदस्य तथा उच्च व्यवस्थापनका अधिकारीसहित भार प्रेषण केन्द्र पुगेर विद्युत्को माग र आपूर्तिको अवस्थाबारे जानकारी लिएका थिए। विगत तीन वर्षको लक्ष्मीपूजाको विद्युत् माग र आपूर्तिको तथ्यांक विश्लेषण गर्दै उनले यस वर्ष चुनौतीपूर्ण परिस्थितिमा समेत माग व्यवस्थापन हुनु सकारात्मक उपलब्धि भएको बताए।

उनले विद्युत्को सुरक्षित र मितव्ययी प्रयोग गर्दै उज्यालोको पर्व मनाएकोमा उपभोक्तालाई धन्यवाद दिँदै नियमित र भरपर्दो विद्युत् आपूर्तिका लागि अहोरात्र खटिने कर्मचारीको योगदानको प्रशंसा गरे। आगामी दिनमा पनि विद्युत् आपूर्तिलाई सुरक्षित, भरपर्दो र नियमित बनाउन प्रतिबद्धताका साथ काम गर्न उनले सम्बन्धित निकायलाई आग्रह गरे।

प्राधिकरणका अनुसार यस वर्षको लक्ष्मीपूजामा स्वतन्त्र ऊर्जा उत्पादकबाट १ हजार ५३६.५० मेगावाट, प्राधिकरणका सहायक कम्पनीबाट ४९९.२० मेगावाट, प्राधिकरणका नदी प्रवाही तथा अर्धजलाशययुक्त आयोजनाबाट ३४२.३० मेगावाट र जलाशययुक्त आयोजनाबाट २२.३० मेगावाट विद्युत् प्रणालीमा उपलब्ध भएको थियो।

प्राकृतिक विपद्का कारण रसुवा क्षेत्रमा करिब ४५० मेगावाट विद्युत् उत्पादन प्रणालीबाट बाहिर रहेको अवस्थामा माग व्यवस्थापन गर्नु प्राधिकरणका लागि थप चुनौतीपूर्ण थियो।

प्राधिकरणको तथ्यांकअनुसार २०८२ सालको लक्ष्मीपूजामा विद्युत्को उच्चतम माग १ हजार ७४५ मेगावाट पुगेको थियो भने २०८१ सालमा १ हजार ६०२ मेगावाट थियो। यस वर्षको उच्चतम माग गत वर्षको तुलनामा ६८ मेगावाट बढी हो। त्यस्तै, काठमाडौं उपत्यकाको उच्चतम विद्युत् माग ४८९ मेगावाट पुगेको छ। गत वर्ष यस्तो माग ४०२ मेगावाट थियो।

प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठका अनुसार विद्युत् प्रणालीलाई अविच्छिन्न राख्न देशभरका सम्बन्धित निकाय तथा प्राविधिक टोलीलाई तयारी अवस्थामा राखिएको थियो। सम्भावित प्राविधिक समस्या तत्काल समाधान गर्न ट्रान्सफर्मरसहित आवश्यक उपकरण र प्राविधिक जनशक्ति परिचालन गरिएको थियो।

कुनै स्थानमा समस्या देखिए १५ मिनेटभित्र समाधान गर्ने गरी टोलीलाई तयारी अवस्थामा राखिएको उनले बताए।


Read Previous

रङ्गोली र लक्ष्मीका पाइला बनाएर मनाइँदै लक्ष्मीपूजा- तस्बिरहरूमा हेर्नुहोस्

Read Next

लक्ष्मी पूजाको रात झिलिमिली देखियो काठमाडौं उपत्यका

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar