
मुस्ताङ। तिहार बिदाको अवसरमा हिमाली जिल्ला मुस्ताङ घुम्ने पर्यटकको सङ्ख्या बढेको छ । लामो सरकारी बिदा र मौसम अनुकूल बन्दै गएपछि स्वदेशी तथा विदेशी पर्यटकको आगमन बढेको हो ।
जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार कात्तिक १ देखि १५ गतेसम्म ३५ हजार ८५८ जना पर्यटक मुस्ताङ पुगेका छन् । तीमध्ये २७ हजार १०७ जना नेपाली र ८ हजार ७५१ जना विदेशी पर्यटक रहेका छन् ।
विदेशी पर्यटकमध्ये सार्क राष्ट्रका ७ हजार ७१४ जना र अन्य राष्ट्रका १ हजार ३७ जना रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं सूचना अधिकारी सन्तोष बस्यालले जानकारी दिए । उनका अनुसार तिहार नजिकिएसँगै स्वदेशी पर्यटकको आगमनमा उल्लेख्य वृद्धि भएको छ ।
यस वर्ष मौसम प्रतिकूलताका कारण दसैँअघि र पछि अपेक्षाअनुसार पर्यटक पुग्न सकेका थिएनन् । भारी वर्षा, हिमपात, हिमपहिरो र आँधीको जोखिम तथा बेनी-जोमसोम सडक अवरुद्ध हुँदा पर्यटन आवागमन प्रभावित भएको थियो । पछिल्लो समय मौसम अनुकूल बनेसँगै पर्यटकको चहलपहल बढेको हो ।
मुस्ताङ पुग्ने अधिकांश पर्यटकले मुक्तिनाथ मन्दिरको दर्शन गर्ने गरेका छन् । त्यसपछि कोरला नाका, लोमान्थाङ दरबार, झोङ गुफा, ढुम्बाताल, कागबेनी, मार्फा र विभिन्न ताल तथा गुफाको अवलोकन गर्ने गरेका छन् ।
पर्यटन व्यवसायीका अनुसार तिहार तथा छठको बिदामा विशेषगरी युवापुस्ताको घुमफिरको रोजाइमा मुस्ताङ परेको छ । मुक्तिनाथ दर्शनका लागि पुग्ने पर्यटकले जिल्लाका अन्य पर्यटकीय गन्तव्यसमेत घुम्ने गरेका छन् ।
पछिल्लो समय नेपाल-चीन सीमास्थित कोरला नाका पनि आन्तरिक पर्यटकका लागि आकर्षक गन्तव्य बन्दै गए

