
काठमाडौं। धनधान्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी आज देशभर लक्ष्मीपूजा मनाइँदैछ। सुख, शान्ति, समृद्धि र सौभाग्य प्राप्तिको कामनासहित घर तथा व्यापारिक प्रतिष्ठानमा दीप प्रज्वलन गरी लक्ष्मीको पूजा गरिएको छ।
लक्ष्मीपूजाका अवसरमा घरका मूल ढोकामा रातो माटो लिपेर लक्ष्मीका पाइला बनाउने र विभिन्न रङका रङ्गोलीले सजाउने परम्परा छ। लक्ष्मीलाई घरमा स्वागत गर्ने विश्वाससहित ढोकादेखि पूजास्थलसम्म पाइला बनाइन्छ।
काठमाडौंको दरबारमार्ग क्षेत्रका पसल तथा व्यापारिक प्रतिष्ठानका मूल ढोका पनि विभिन्न रङ र आकृतिका रङ्गोलीले सजाइएका छन्। साँझ घर तथा पसलमा दीप बालेर लक्ष्मीको आराधना गर्ने चलन छ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी

