
मुगु । दसैँ-तिहारसँगै घुमघामको मौसम सुरु भएपछि मुगुस्थित रारा तालमा पर्यटकको चहलपहल बढ्न थालेको छ । नेपालको प्रमुख पर्यटकीय गन्तव्य राराको मनमोहक प्राकृतिक सौन्दर्य अवलोकन गर्न आन्तरिक तथा बाह्य पर्यटक पुग्न थालेका छन् ।

समुद्री सतहबाट २ हजार ९९० मिटरको उचाइमा रहेको रारा ताल १०.८ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । करिब १६७ मिटर गहिराइ रहेको यो ताल नेपालको सबैभन्दा ठूलो ताल हो ।
सफा आकाश, वरपरका हरियाली डाँडा र तालमा प्रतिबिम्बित तिनै डाँडाको दृश्यले राराको सौन्दर्य थप आकर्षक बनाउने गरेको छ । नीलो पानीमा तैरिएझैँ देखिने हरियाली डाँडा र शान्त वातावरणले पर्यटकलाई आकर्षित गर्दै आएको छ ।

राराको सुन्दरताबाट प्रभावित भएर राजा महेन्द्रले यसलाई ‘स्वर्गकी अप्सरा’का रूपमा चित्रण गर्दै कविता लेखेका थिए । २०२० सालको अन्त्यतिर राजा महेन्द्रले रारा भ्रमण गरेपछि यो ताल थप चर्चामा आएको थियो । कुनै समय उनको भ्रमणकै कारण रारा ताललाई ‘महेन्द्र ताल’ नामसमेत दिइएको थियो ।
प्राकृतिक सौन्दर्य र मनमोहक दृश्यका कारण रारा नेपालको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा परिचित छ ।

तस्बिर: अर्जुन गाहा/नेपाल फोटो लाइब्रेरी

