Nepal Purbadhar

सडक सुरक्षा: पृथ्वी राजमार्गमा सुक्खा पहिरो, जुम्लामा जीप दुर्घटना हुँदा एकको मृत्यु

फाइल तस्बिर।


काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका-४ स्थित घोप्टेभीरमा सुक्खा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । आइतबार बिहान करिब १० बजे पहिरो खसेपछि राजमार्गको दुवैतर्फ सवारी आवागमन रोकिएको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक अनिल थापाका अनुसार पहिरो पन्छाउने काम भइरहेको छ । थप पहिरो नखसेमा छिट्टै सडक दुईतर्फी सञ्चालनमा आउने उनले बताए ।

यसैबीच, जुम्लामा बोलेरो जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन् ।

मुगुबाट जुम्लातर्फ आउँदै गरेको क १ ज ००५४ नम्बरको जीप शनिबार साँझ कनकासुन्दरी गाउँपालिका-१ स्थित चौथामा दुर्घटना भएको हो ।

दुर्घटनामा रुकुम पूर्वको उत्तरगङ्गा गाउँपालिका-१ घर भई हाल कनकासुन्दरी गाउँपालिकामा बस्दै आएका ४२ वर्षीय सुरज पुन मगरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।

दुर्घटनामा घाइते भएका छ जनालाई एम्बुलेन्समार्फत कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्‍याएर उपचार भइरहेको छ । उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । जीपमा १६ जना यात्रु सवार थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


Read Previous

पर्यटकको रोजाइमा ‘स्वर्गकी अप्सरा’ रारा, बढ्न थाल्यो चहलपहल- तस्बिरहरूमा हेर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar