Nepal Purbadhar

सोहराई पर्वमा ढिकर रोटीको रौनक, परम्परागत परिकार बनाउन व्यस्त थारू महिला- तस्बिरहरू


चितवन। थारू समुदायको प्रमुख पर्व सोहराईका अवसरमा चितवनका थारू बस्तीमा चहलपहल बढेको छ। पर्वका लागि महिलाहरू परम्परागत परिकार ढिकर रोटी बनाउन व्यस्त छन्।

चितवनको कालिका नगरपालिका-५, ओमशान्ति चोकमा थारू महिलाहरू सोहराईका लागि ढिकर रोटी तयार पारिरहेका छन्। अन्य समुदायले लक्ष्मी पूजा मनाइरहँदा थारू समुदायले आफ्नै विशिष्ट सांस्कृतिक पहिचानसहित सोहराई पर्व मनाउने गर्छन्।

थारू समुदायकी अगुवा बालकुमारी चौधरीका अनुसार सोहराई समुदायको महत्त्वपूर्ण पर्व हो। वर्षभरि सुख, शान्ति र समृद्धि मिलोस् तथा घरमा अन्नको भण्डार भरियोस् भन्ने कामनासहित यो पर्व मनाउने परम्परा छ।

सोहराईको मुख्य परिकार तथा पूजा सामग्रीका रूपमा ढिकर रोटी बनाइन्छ। नगर रोटी वा चौधरी रोटीसमेत भनिने यो परिकार चामलको पिठोलाई मुछेर विशेष आकार दिई बाफमा पकाएर तयार गरिन्छ।

ढिकर रोटी बनाउन थारू भाषामा ‘एटलहरी’ भनिने परम्परागत भाँडो प्रयोग गरिन्छ। भाँडोको तल्लो भागमा पानी राखेर माथिको प्वाल भएको भागमा रोटी राखिन्छ। मोमो पकाएझैँ पानीको बाफमा उसिनेर रोटी तयार पारिन्छ।

सोहराईको साँझ घरको आँगन गोबरले पोतेर रङ्गोली बनाउने र माटोको दियो बालेर ‘दिउली बत्ती’ पूजा गर्ने चलन छ। घरको प्रमुख व्यक्तिले आँगन र दैलोमा पूजा गरेपछि भोलिपल्ट बिहान धान, चामल र ढिकर रोटी राखेर पूजाअर्चना गर्ने परम्परा छ।

ढिकर रोटी तातैमा मासु, माछा वा विभिन्न चटनीसँग खाने गरिन्छ। भोलिपल्ट बिहान भने यसलाई आगोमा पोलेर खाने चलन छ।

तस्बिर : निशा श्रेष्ठ/नेपाल फोटो लाइब्रेरी


Read Previous

भारतमा विद्युतीय अटो रिक्साको बजार विस्तार हुँदै, हरेक ९० सेकेन्डमा एउटा उत्पादन

Read Next

रङ्गोली र लक्ष्मीका पाइला बनाएर मनाइँदै लक्ष्मीपूजा- तस्बिरहरूमा हेर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar