
सिमरा। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले उच्च शिक्षा सुधारका लागि नीतिगत र संरचनागत सुधारको काम तीव्र रूपमा अघि बढिरहेको बताएका छन्।
सिमरामा शिक्षा तथा खेलकुद मन्त्रालयले आयोजना गरेको उच्चस्तरीय संवाद कार्यक्रममा उनले नयाँ शिक्षा ऐन निर्माण, राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जन तथा विश्वविद्यालयसम्बन्धी ऐन निर्माणको काम अघि बढिरहेको बताए।
मधेश प्रदेशको शैक्षिक अवस्था सुधारका लागि स्थानीय आवश्यकता र सरोकारवालाको सुझावलाई नीतिमा समेटिने उनले बताए। काठमाडौंमा बसेर मात्रै नीति बनाउँदा स्थानीय आवश्यकता छुट्न सक्ने भन्दै उनले धरातलीय अवस्थाबारे प्रत्यक्ष संवाद आवश्यक रहेको उल्लेख गरे।
मन्त्री पोखरेलले धेरै विश्वविद्यालय खोल्नुभन्दा विशिष्टीकृत र गुणस्तरीय विश्वविद्यालय निर्माणमा जोड दिनुपर्ने बताए। सम्बन्धन र विद्यार्थी संख्या बढाएर मात्र उच्च शिक्षाको गुणस्तर सुधार नहुने भन्दै उनले सीपमा आधारित र प्रविधिमैत्री शिक्षालाई प्राथमिकता दिनुपर्ने बताए।
उनले मधेश प्रदेशमा माध्यमिक तहसम्मका कम्तीमा १०० विद्यालयलाई विश्वस्तरीय विद्यालयका रूपमा विकास गर्ने अवधारणामा काम भइरहेको जानकारी दिए।
मन्त्री पोखरेलले स्थानीय बजार, संस्कृति र सामाजिक आवश्यकताअनुसार पाठ्यक्रम निर्माण गर्नुपर्नेमा समेत जोड दिए। मुगु र बाराको शैक्षिक आवश्यकता फरक हुने भएकाले स्थानीय आवश्यकता सम्बोधन गर्ने पाठ्यक्रम आवश्यक रहेको उनको भनाइ थियो।

