Nepal Purbadhar

ग्लोबल आइएमई बैंकमा दीपचन्द्र रेग्मी डीसीईओ र बुद्धि अकेला एसीईओमा बढुवा


काठमाडौं। ग्लोबल आइएमई बैंक लिमिटेडले दीपचन्द्र रेग्मीलाई नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) र बुद्धि अकेलालाई सहायक प्रमुख कार्यकारी अधिकृत (एसीईओ) पदमा बढुवा गरेको छ।

मंगलबार बसेको बैंक सञ्चालक समितिको बैठकले रेग्मी र अकेलालाई क्रमशः डीसीईओ र एसीईओ पदमा बढुवा गर्ने निर्णय गरेको हो। रेग्मी यसअघि सहायक प्रमुख कार्यकारी अधिकृत तथा अकेला नायब महाप्रबन्धक पदमा कार्यरत थिए।

रेग्मी डीसीईओमा

बैंकिङ क्षेत्रमा लामो अनुभव भएका रेग्मीले सन् २००७ मा स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालबाट आफ्नो बैंकिङ करिअर सुरू गरेका थिए। उनी सन् २००९ देखि ग्लोबल आइएमई बैंकमा आबद्ध छन्।

बैंकमा रहँदा उनले प्रमुख वित्तीय अधिकृत (सीएफओ), प्रमुख मानव संसाधन अधिकृत (सीएचआरओ), प्रमुख कर्जा अधिकृत (सीएलओ) तथा ट्रेड फाइनान्स प्रमुखको जिम्मेवारी सम्हालिसकेका छन्। उनी बैंकको सहायक कम्पनी ग्लोबल आइएमई क्यापिटल लिमिटेडको सञ्चालक समिति अध्यक्षसमेत हुन्।

रेग्मीले थाइल्याण्डको एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी (एआईटी) तथा डेनमार्कको कोपेनहेगन बिजनेस स्कुलबाट व्यवसाय प्रशासनमा स्नातकोत्तर (एमबीए) गरेका छन्।

अकेला एसीईओमा

त्यस्तै, बैंकका नायब महाप्रबन्धक बुद्धि अकेला सहायक प्रमुख कार्यकारी अधिकृतमा बढुवा भएका छन्। बैंकिङ क्षेत्रमा २२ वर्षभन्दा लामो अनुभव भएका अकेलाले सन् २००४ मा नेपाल बैंक लिमिटेडबाट नायब प्रबन्धकका रूपमा बैंकिङ करिअर सुरू गरेका थिए।

उनी सन् २००६ देखि ग्लोबल आइएमई बैंकमा निरन्तर आबद्ध छन्। उनले एकीकृत जोखिम व्यवस्थापन, व्यवसाय विस्तार, शाखा सञ्चालन, कर्जा प्रशासन तथा आन्तरिक लेखापरीक्षणलगायत विभागमा जिम्मेवारी सम्हालिसकेका छन्। पछिल्लो समय उनी बैंकको प्रमुख जोखिम अधिकृत (सीआरओ) का रूपमा कार्यरत थिए।

अकेला ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समिति अध्यक्षसमेत हुन्। उनले पोखरा विश्वविद्यालयबाट व्यवसाय प्रशासनमा स्नातकोत्तर (एमबीए) गरेका छन्।

ग्लोबल आइएमई बैंकले रेग्मी र अकेलाको अनुभव तथा दक्षताले बैंकको नेतृत्व, जोखिम व्यवस्थापन र सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन योगदान पुग्ने विश्वास लिएको जनाएको छ।

बैंकले हाल ७७ ओटै जिल्लामा ३४१ शाखा, ३६६ एटीएम, १४७ शाखारहित बैंकिङ केन्द्र, ६९ एक्सटेन्सन तथा राजस्व सङ्कलन काउन्टर र तीन ओटा विदेशस्थित प्रतिनिधि कार्यालयमार्फत सेवा दिँदै आएको छ।


Read Previous

हिम पर्वत हाइड्रोपावरलाई ४९ लाख १४ हजार कित्ता आईपीओ निष्काशन गर्न अनुमति

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar