Nepal Purbadhar

कमला नदीको पुल निर्माण अन्तिम चरणमा, मङ्सिरदेखि सञ्चालनमा ल्याइने


जनकपुर। धनुषा र सिरहा जोड्ने कमला नदीको पुल निर्माण अन्तिम चरणमा पुगेको छ। हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय जनकपुरधामले आगामी मङ्सिरदेखि पुल सञ्चालनमा ल्याउने तयारी गरेको जनाएको छ।

कार्यालय प्रमुख कृष्णकुमार महतोका अनुसार १० नम्बर पिलरको निर्माण सम्पन्न भइसकेको छ भने माथिल्लो संरचनाको ढलान तथा तीन ओटा पिलरको सबलीकरणको काम अन्तिम चरणमा पुगेको छ। पुलका दुवैतर्फ पहुँच सडकमा माटो भर्ने कामसमेत सम्पन्न भएको छ।

२०७८ असारमा सञ्चालनको तयारी भइरहेका बेला बाढीले पुलको पिलर भाँचिएपछि पुनःनिर्माण गर्नुपरेको थियो। निर्माणमा ढिलाइ हुँदा स्थानीयले लामो समयदेखि डुङ्गाबाट नदी वारपार गर्दै आएका थिए।

सिरहादेखि सर्लाहीसम्मको ४०६ दशमलव ४३ किलोमिटर हुलाकी सडकखण्डमध्ये हालसम्म ३४७ दशमलव ६३ किलोमिटर कालोपत्र भइसकेको छ। यस खण्डमा पर्ने २४ ओटा पुलको निर्माण पनि सम्पन्न भएको छ।

आर्थिक वर्ष २०८२/८३ भित्र हुलाकी सडक निर्माण सम्पन्न गर्ने लक्ष्य रहे पनि घरटहरा हटाउन ढिलाइ र जग्गासम्बन्धी विवादका कारण केही काम प्रभावित भएको कार्यालयले जनाएको छ।


Read Previous

ऊर्जाका क्षेत्रका समस्या समाधान गर्न ऊर्जा मन्त्रालयले गठन गर्‍यो ९ सदस्यीय उच्चस्तरीय समिति

Read Next

हिम पर्वत हाइड्रोपावरलाई ४९ लाख १४ हजार कित्ता आईपीओ निष्काशन गर्न अनुमति

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar