Nepal Purbadhar

१० हजार मेट्रिक टन धान खरिद गर्दै आरजु राइस मिल


काठमाडौं । आरजु राइस मिल प्रालिले मधेश प्रदेशका किसानबाट करिब १० हजार मेट्रिक टन वर्षे धान खरिद गर्ने योजना अघि सारेको छ। मिलले विशेषगरी सर्लाही र रौतहटका किसानबाट जिरा मसिनो जातको धान खरिद गर्ने तयारी गरेको हो।

मिलका कार्यकारी अध्यक्ष वीरेन्द्रबहादुर बस्नेतले मधेश प्रदेशका मुख्यमन्त्रीलाई पत्र पठाउँदै किसानले उत्पादन गरेको धान पूर्वघोषित न्यूनतम समर्थन मूल्यमा खरिद गर्ने प्रस्ताव गरेका छन्। प्रस्तावित धान खरिदको कुल मूल्य ३९ करोड रुपैयाँभन्दा बढी हुने जनाइएको छ।

मिलका अनुसार किसानलाई बजारको सुनिश्चितता दिन धान संकलन, ढुवानी, गुणस्तर परीक्षण र भुक्तानी प्रक्रियालाई व्यवस्थित गरिनेछ। गुणस्तरका आधारमा किसानले थप मूल्यसमेत पाउने व्यवस्था प्रस्ताव गरिएको छ।

प्रस्तावअनुसार २० प्रतिशत चिस्यान र ५ प्रतिशतसम्म भुस भएको मसिनो धान मिल गेटसम्म पुर्‍याउँदा प्रति क्विन्टल ३ हजार ५ सय रुपैयाँ मूल्य निर्धारण गरिएको छ। चिस्यान र भुसको मात्रा कम भए सोहीअनुसार थप मूल्य दिइनेछ।

मिलले किसानले न्यूनतम समर्थन मूल्यको वास्तविक लाभ लिन धान मिल वा संकलन केन्द्रसम्म पुर्‍याउँदा लाग्ने ढुवानी खर्चमा मधेश प्रदेश सरकारको सहकार्य आवश्यक रहेको जनाएको छ।

किसान समूह, सहकारी तथा किसान उत्पादक संस्थामार्फत धान संकलन गर्न सके ढुवानी तथा अन्य लागत घटाउन सकिने मिलको भनाइ छ। यसबाट किसानले बजार खोज्नुपर्ने बाध्यता र बिचौलियामाथिको निर्भरता घट्ने अपेक्षा गरिएको छ।

आरजु राइस मिलले धान खरिदमा तौल, गुणस्तर, मूल्य र भुक्तानी प्रक्रियालाई पारदर्शी बनाउने प्रतिबद्धता जनाएको छ।


Read Previous

प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक दीर्घायुले लिए शपथ, सम्हाले कार्यभार

Read Next

सुरक्षाकर्मीलाई जलविद्युत् आयोजनाको आईपीओमा २ प्रतिशत सहभागिता सुनिश्चित गरिने

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar