Nepal Purbadhar

हिउँदको विद्युत् माग धान्न प्राधिकरणले थाल्यो तयारी, पाँच सदस्यीय समिति गठन


काठमाडौं। नेपाल विद्युत् प्राधिकरणले आगामी हिउँदमा बढ्ने विद्युत् माग र आपूर्ति व्यवस्थापनका लागि अहिलेदेखि नै तयारी थालेको छ।

भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण जलविद्युत् आयोजनाहरूमा क्षति पुगेर करिब ४३० मेगावाट विद्युत् उत्पादन प्रणालीबाट बाहिरिएपछि प्राधिकरणले सुक्खायामको आपूर्ति व्यवस्थापनका लागि विशेष तयारी अघि बढाएको हो।

प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले हिउँदको माग व्यवस्थापनका लागि आवश्यक अध्ययन तथा कार्य अघि बढाउन बागमती प्रादेशिक कार्यालयका निर्देशकको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ। समितिले दैनिक प्रगति विवरण कार्यकारी निर्देशकसमक्ष बुझाउनुपर्नेछ।

काठमाडौं उपत्यका तथा आसपासका क्षेत्रमा निर्माणाधीन प्रसारण र वितरण आयोजनाको काम तोकिएको समयभित्र सम्पन्न गर्ने गरी समयसीमा निर्धारण गरिएको छ। साथै, बाढीबाट क्षति पुगेको देवीघाट सबस्टेसन पुनः सञ्चालनमा ल्याउने सम्भावनाबारे स्थलगत अध्ययन गर्न प्राविधिक टोली परिचालन गरिएको छ।

श्रेष्ठले उत्पादनमा कमी आए पनि आगामी हिउँदमा लोडसेडिङ गर्नुपर्ने अवस्था नरहेको बताएका छन्। उनका अनुसार प्राधिकरणले अहिलेबाटै वैकल्पिक उपाय र आवश्यक तयारी अघि बढाएको छ।


Read Previous

विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त

Read Next

प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक दीर्घायुले लिए शपथ, सम्हाले कार्यभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar