Nepal Purbadhar

आजदेखि प्राधिकरणको कार्यकारी निर्देशकको पद सम्हाल्दै श्रेष्ठ, शाक्यको पुनर्बहाली रिटमा बुधबार पेसी


काठमाडौं। नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले आज पदवहाली गर्ने भएका छन्। श्रेष्ठले आज दिउँसो १ बजे प्राधिकरणको प्रधान कार्यालय, रत्नपार्कमा पदवहाली गर्ने कार्यक्रम रहेको छ।

शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले प्राधिकरणको कार्यकारी निर्देशकमा श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको थियो। यसअघि उनी प्राधिकरणमा वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक थिए।

श्रेष्ठले कार्यकारी निर्देशकको जिम्मेवारी सम्हाल्ने तयारी गरिरहँदा निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले भने आफूलाई पूर्ववत् पदमा पुनर्बहाली गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गरेका छन्।

सर्वोच्च प्रशासनले दरपीठ गरेको रिटलाई अदालतले दर्ता गर्न आदेश दिएपछि शाक्यले मंगलबार रिट दर्ता गरेका हुन्। सर्वोच्चले उक्त रिटको पेसी बुधबारका लागि तोकेको छ। प्रशासनले दरपीठ गरेको रिटलाई न्यायाधीश नृपध्वज निरौलाको इजलासले शुक्रबार दर्ता गर्न आदेश दिएको थियो।

शाक्यले आफूलाई पदमुक्त गर्न आधार बनाइएको अध्यादेश निष्क्रिय भइसकेको भन्दै पूर्ववत् पदमा पुनर्बहालीको माग गरेका छन्। सरकारले उक्त अध्यादेशबाट निष्क्रिय भएको साविकको कानुनी व्यवस्था पुनः कायम गर्ने उद्देश्यले मंगलबार प्रतिनिधि सभामा विधेयकसमेत दर्ता गरेको छ।

शाक्य २०८१ चैत ११ गते नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएका थिए। उनलाई सरकारले २०८२ असोज ५ गतेको निर्णयबाट पदमुक्त गरेको थियो। त्यसपछि सर्वोच्च अदालतले २०८२ मंसिर २२ गते शाक्यलाई कार्यकारी निर्देशक पदमा पुनर्बहाली गर्न आदेश दिएको थियो।

तर निर्वाचनपछि गठित नयाँ सरकारले २०८३ वैशाख २१ गते सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष अध्यादेश जारी गर्दै सार्वजनिक निकायमा भएका नियुक्ति बदर गरेको थियो। सोही व्यवस्थाअन्तर्गत शाक्यको नियुक्तिसमेत बदर भएको थियो।

शाक्यको रिट दर्ता गर्न सर्वोच्चले आदेश दिएको दिन नै सरकारले प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायु कुमार श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको थियो। प्राधिकरणको आधिकारिक वेबसाइटमा समेत श्रेष्ठलाई कार्यकारी निर्देशकका रूपमा उल्लेख गरिएको छ।

यसरी एकातिर श्रेष्ठले आजदेखि प्राधिकरणको नेतृत्व सम्हाल्दै छन् भने अर्कोतिर शाक्यले आफूलाई पूर्ववत् पदमा पुनर्बहाली गर्न माग गर्दै दायर गरेको रिटको पेसी बुधबार हुँदैछ। त्यसैले प्राधिकरणको कार्यकारी निर्देशक पदमा श्रेष्ठको नियुक्तिसँगै शाक्यको पुनर्बहालीसम्बन्धी कानुनी प्रक्रियासमेत अघि बढेको छ।


Read Previous

अफ्रिकी ६ देश जोड्ने २ हजार ६५० किलोमिटर पेट्रोलियम पाइपलाइन बनाउँदै उद्योगपति डाङ्गोटे

Read Next

भोटेकोशी बाढीमा बेपत्ताको पहिचान गर्न नास्टमा पनि डीएनए परीक्षण हुने

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar