
काठमाडौं । नजिकिँदै गरेको दशैं, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ असोज २३ गतेदेखि खुल्ने भएको छ।
यातायात व्यवस्था विभागमा मंगलबार बसेको उच्चस्तरीय बैठकले चाडपर्वका बेला काठमाडौं उपत्यकाबाट बाहिरिने यात्रुको सहजताका लागि असोज २३ गतेदेखि अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको हो।
विभागको आयोजनामा भएको बैठकमा यातायात व्यवसायी राष्ट्रिय महासंघ, यातायात श्रमिक संगठन, नेपाल प्रहरी, ट्राफिक प्रहरी तथा नयाँ बसपार्क व्यवस्थापक ल्होत्से बहुउद्देश्यीय प्रालिका प्रतिनिधि सहभागी थिए। छलफलपछि अग्रिम टिकट बुकिङ खुला गर्ने सहमति जुटेको अखिल नेपाल यातायात मजदुर संगठनका अध्यक्ष दिपक केसीले जानकारी दिए।
यस वर्ष दशैंको अवधिमा १० लाखभन्दा बढी यात्रुले काठमाडौं उपत्यका छाड्ने अनुमान गरिएको छ। अग्रिम टिकट बुकिङ नखुल्दा तथा केही यातायात कम्पनीले मात्रै अनलाइनमार्फत टिकट बिक्री गरिरहेका कारण यात्रुमा देखिएको अन्योल अब हट्ने अपेक्षा गरिएको छ।
बैठकले चाडपर्वका बेला यात्रुको सुरक्षा, सुविधा र यातायात व्यवस्थापनलाई व्यवस्थित बनाउन विभिन्न निर्णयसमेत गरेको छ। लामो दूरीका सार्वजनिक सवारीसाधनमा अनिवार्य रूपमा दुई जना चालक राख्नुपर्ने व्यवस्था गरिएको छ।
त्यस्तै, टिकट काउन्टरमा खटिने कर्मचारीले अनिवार्य रूपमा परिचयपत्र र युनिफर्म लगाउनुपर्नेछ। टिकट काट्दा यात्रुको नाम र सम्पर्क नम्बरसमेत अनिवार्य रूपमा अभिलेख राख्नुपर्ने निर्णय भएको छ।
चाडपर्वको मौका छोपेर तोकिएभन्दा बढी भाडा असुल गर्ने, टिकटमा कालोबजारी तथा अन्य अनियमितता गर्ने व्यवसायी वा व्यक्तिमाथि कडा कानुनी कारबाही गरिने विभागले जनाएको छ। टिकट बिक्री प्रणालीलाई पारदर्शी बनाउन सरकार, यातायात व्यवसायी र सुरक्षा निकायबीच प्रभावकारी समन्वय गर्ने निर्णयसमेत भएको छ।
सुरक्षित यात्रा सुनिश्चित गर्न तथा राजमार्गमा हुने अवरोध, दुर्घटना वा अन्य समस्याबारे तत्काल सूचना आदानप्रदान गर्न केन्द्रीय सूचना केन्द्र सञ्चालनमा ल्याउने निर्णय भएको अध्यक्ष केसीले बताए।
बैठकले सम्पूर्ण यात्रुवाहक सवारीसाधनमा प्राथमिक उपचार सामग्री, अग्नि नियन्त्रण उपकरण र पिउने पानीलगायत अत्यावश्यक सामग्री अनिवार्य रूपमा उपलब्ध गराउनुपर्ने निर्णय पनि गरेको छ।
चाडपर्वका बेला बसपार्क तथा टिकट काउन्टरमा हुने यात्रुको अत्यधिक चाप व्यवस्थापन गर्न सुरक्षा निकायको प्रभावकारी परिचालन गर्ने विषयमा पनि बैठकमा जोड दिइएको थियो।
दशैं, तिहार तथा छठलाई सुरक्षित, सहज र व्यवस्थित यातायातको माध्यमबाट यात्रु सेवा प्रदान गर्ने गरी सबै पक्षबीच समन्वय र सहकार्य गर्ने प्रतिबद्धता बैठकमा व्यक्त भएको छ।

