
ललितपुर । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठबीच महानगरपालिकामा भेटघाट तथा छलफल भएको छ।
भेटका क्रममा स्मार्ट सडक बत्ती, विद्युतीय सवारी चार्जिङ स्टेशन, अव्यवस्थित तार व्यवस्थापन तथा भूमिगत विद्युत् वितरण प्रणाली लगायतका विषयमा आपसी समन्वय र सहकार्यलाई थप प्रभावकारी बनाउनेबारे छलफल भएको थियो।
छलफलमा प्राधिकरणका निर्देशक श्रीराम पोखरेललगायत अधिकारीहरूको पनि सहभागिता थियो।
सो अवसरमा कार्यकारी निर्देशक श्रेष्ठले प्राधिकरणबाट सञ्चालन भइरहेका भूमिगत विद्युत् प्रणालीसम्बन्धी आयोजनाको प्रभावकारी कार्यान्वयनका लागि महानगरपालिकाबाट आवश्यक सहजीकरण र समन्वयको अपेक्षा व्यक्त गरे।
त्यस्तै, सडक बत्तीबापत महानगरपालिकाबाट तिर्न बाँकी रहेको बक्यौता असुलीका लागि पनि आवश्यक सहयोग गरिदिन उनले आग्रह गरे।
महानगर प्रमुख महर्जनले स्मार्ट सडक बत्ती, चार्जिङ स्टेशन, तार व्यवस्थापन र भूमिगत वितरण प्रणालीलगायतका विषयमा महानगरपालिकाको तर्फबाट आवश्यक सहयोग, समन्वय तथा सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे।

