
काठमाडौं । विश्वकर्मा पूजाको अवसरमा काठमाडौंको गोङ्गबुस्थित नयाँ बसपार्कमा बस चालक तथा बस व्यवसायीहरूले आ-आफ्ना सवारीसाधनको पूजा गरेका छन्।
सवारीसाधन, मेसिन तथा औजारका देवताका रूपमा विश्वकर्मालाई पूजा गर्ने परम्पराअनुसार चालक तथा व्यवसायीहरूले बिहानै बस सफा गरी फूलमाला, अक्षता, टीका तथा प्रसाद चढाएर पूजा गरेका हुन्।

सवारीसाधन सुरक्षित रहोस्, यात्राका क्रममा दुर्घटना नहोस् र व्यवसायमा सफलता मिलोस् भन्ने कामनासहित पूजा गरिएको चालक तथा व्यवसायीहरूले बताएका छन्।
विश्वकर्मा पूजाका कारण नयाँ बसपार्क क्षेत्रमा बिहानैदेखि चहलपहल बढेको थियो। बसपार्कसँगै विभिन्न वर्कसप, ग्यारेज तथा यातायात व्यवसायसँग सम्बन्धित क्षेत्रमा पनि विशेष पूजा तथा धार्मिक विधि सम्पन्न गरिएको छ।

नेपालमा विश्वकर्मा पूजा विशेषगरी यातायात, उद्योग, कलकारखाना तथा प्राविधिक क्षेत्रमा संलग्न व्यक्तिहरूले श्रद्धापूर्वक मनाउने गर्छन्।

तस्बिर : नेपाल फोटो लाइब्रेरी

