Nepal Purbadhar

विश्वकर्मा पूजा आज, भद्रकालीमा सवारी पूजा गर्नेको भीड


काठमाडौं । विश्वकर्मा पूजा आज देशभर विभिन्न धार्मिक तथा सांस्कृतिक विधिअनुसार मनाइँदैछ। निर्माण, कलकारखाना, उद्योग तथा प्रविधिसँग सम्बन्धित काम गर्नेहरूले भगवान् विश्वकर्माको पूजा-आराधना गरी विश्वकर्मा दिवस मनाइरहेका छन्।

विश्वकर्मा पूजाको अवसरमा काठमाडौंको भद्रकाली मन्दिर परिसरमा सवारीसाधनको पूजा गर्न आउनेहरूको बिहानैदेखि भीड लागेको छ। विशेषगरी चालक तथा सवारीधनीहरूले मोटरसाइकल, कार, ट्याक्सी, बसलगायत सवारीसाधन भद्रकाली परिसरमा लगेर पूजा, टीका तथा प्रसाद ग्रहण गरेका छन्।

हिन्दू धर्मावलम्बीहरूले विश्वकर्मालाई देवशिल्पीका रूपमा मान्ने गर्छन्। विभिन्न प्रकारका औजार, मेसिन, उपकरण तथा निर्माण सामग्रीको पूजा गर्ने परम्परा पनि विश्वकर्मा पूजासँग जोडिएको छ। उद्योग तथा कलकारखानामा मेसिनरी सामग्रीको पूजा गरी कामदार तथा कर्मचारीबीच प्रसाद वितरण गर्ने गरिन्छ।

विश्वकर्मा पूजाका दिन सवारीसाधन तथा औजारको पूजा गर्दा काममा सफलता, दुर्घटनाबाट सुरक्षा र व्यवसायमा प्रगति हुने धार्मिक विश्वास छ। त्यसैले यातायात व्यवसायी, चालक, मिस्त्री, प्राविधिक तथा विभिन्न पेशा-व्यवसायमा आबद्ध व्यक्तिहरूले विशेष रूपमा यो पर्व मनाउने गरेका छन्।

काठमाडौं उपत्यकाका विभिन्न मन्दिर, ग्यारेज, वर्कसप, उद्योग तथा सवारी पार्किङस्थलमा विश्वकर्माको मूर्ति तथा तस्बिर स्थापना गरी पूजा गरिएको छ। पूजा गर्न आउनेको चहलपहलका कारण भद्रकाली आसपासका क्षेत्रमा बिहानैदेखि सवारीसाधनको आवागमनसमेत बढेको छ।

तस्बिर : सुर्याम्स उप्रेती / नेपाल फोटो लाइब्रेरी


Read Previous

नयाँ बसपार्कमा विश्वकर्मा पूजा, सवारीसाधनको पूजा गर्दै चालक तथा व्यवसायी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar