Nepal Purbadhar

त्रिशूली-३ ‘ए’ को सुरुङको मुख ३ फिट खुलाइयो, उद्धार टोली २० मिटरभित्र पुग्यो


काठमाडौं। भोटेकोशी बाढीबाट प्रभावित नुवाकोटस्थित माथिल्लो त्रिशूली-३ ‘ए’ जलविद्युत् आयोजनाको केबल डक्ट टनेलको मुख खुलाउने काम तीव्र पारिएको छ। बाढीले सुरुङ तथा आयोजनाका मुख्य संरचना पुरिएपछि त्यहाँ मानिस फसेको आशंकामा नेपाली सेनाको नेतृत्वमा ९३ जनाको टोली खोज तथा उद्धारमा जुटेको छ।

चिनियाँ टोली तथा अन्य प्राविधिकसहितको उद्धार टोलीले पाँच ओटा एक्स्काभेटर, कम्प्रेसर र ब्रेकर प्रयोग गरी सुरुङको मुखमा थुप्रिएको डेब्रिस हटाइरहेको छ।

सुरुङको मुखमा करिब ४० मिटर लामो र २० मिटर अग्लो भत्किएको फलामे संरचना तथा ठूला ढुंगा थुप्रिएका थिए। रातदिन निरन्तर काम गरेपछि माथिल्लो भागबाट करिब ३ फिट सुरुङको मुख खुलाइएको छ।

मुख खुलेसँगै उद्धार टोली सुरुङभित्र करिब १५ देखि २० मिटरसम्म प्रवेश गरिसकेको छ। तर, एक्स्काभेटर तथा अन्य उपकरण सुरुङभित्र लैजानका लागि पुरै मुख खुलाउनुपर्ने भएकाले बाँकी डेब्रिस हटाउने काम जारी छ।

सुरुङको मुखमा रहेका थप सात ओटा ठूला ढुंगा ब्लास्टिङका लागि तयारी अवस्थामा राखिएको छ।

करिब १७० मिटर लामो उक्त सुरुङ माटो तथा लेदोले भरिएको छ। सुरुङ पूर्ण रूपमा छिचोलेपछि मात्रै भित्र रहेका पावरहाउस लगायतका अन्य संरचनामा पुग्न सकिनेछ।

बाढीपछि आयोजनाका सुरुङ तथा मुख्य संरचना पुरिएसँगै त्यहाँ कार्यरत केही व्यक्ति फसेको आशंका गरिएको छ। उनीहरूको अवस्था पत्ता लगाउन नेपाली सेना, चिनियाँ प्राविधिक तथा आयोजनाका जनशक्तिसहितको टोलीले निरन्तर खोजी गरिरहेको छ।


Read Previous

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकद्वारा बाढी पीडितका लागि ६५ लाख रुपैयाँ सहयोग

Read Next

उद्धारमा खटिएका सुरक्षाकर्मी र कर्मचारीलाई जोखिम भत्ता, मृत्यु भए परिवारलाई १० लाख

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar