
टेलिकमले पछिल्लो पटक डोल्पाको छार्का ताङसोङ गाउँपालिकाको केन्द्र कागकोटमा सञ्चालनमा ल्याएको फोरजी सेवाको नेटवर्क। सांकेतिक रूपमा प्रयोग गरिएको फाइल तस्बीर ।
काठमाडौं। बाढीका कारण प्रभावित रसुवा, नुवाकोट र धादिङका विभिन्न क्षेत्रमा दूरसञ्चार सेवा पुनःस्थापना तथा सुधारको काम तीव्र पारिएको छ।
रसुवाको न्यौपानेचौर र राम्चे रिपिटर साइटमा हेलिकप्टरमार्फत जेनेरेटर र ब्याट्री पठाएर आसपासका क्षेत्रमा सेवा सुचारु गरिएको छ। धुन्चेमा जेनेरेटर, इन्धन तथा प्राविधिक कर्मचारी परिचालन गरी दूरसञ्चार सेवा सञ्चालनको व्यवस्था मिलाइएको छ।
नुवाकोट र धादिङका मदनपुर, बट्टार, विदुर बसपार्क तथा बैरेनी–ठमेल डाँडालगायतका क्षेत्रमा पनि जेनेरेटर, इन्धन र प्राविधिक जनशक्ति परिचालन गरी सेवा सुचारु गर्ने काम भइरहेको छ।
महत्त्वपूर्ण साइटमा सेवा निरन्तर सञ्चालनका लागि आवश्यक जेनेरेटर, इन्धन र कर्मचारी परिचालन गरिएको छ। सञ्चालनमा रहेका बीटीएसको कभरेज, क्षमता वृद्धि तथा नेटवर्क अप्टिमाइजेसनमार्फत सेवा थप प्रभावकारी बनाइएको जनाइएको छ।
यसैबीच प्रभावित सेवाग्राहीलाई उपलब्ध गराइएको निःशुल्क दूरसञ्चार सुविधाको अवधि थप ३ दिन बढाइएको छ। अब भदौ १२, १३ र १४ गतेसम्म प्रभावित क्षेत्रमा भ्वाइस कल निःशुल्क, प्रतिदिन २ जीबी डेटा र ५० ओटा एसएमएस निःशुल्क उपलब्ध हुनेछन्।
